कुन शीर्ष नेता कोसँग भिड्दैछन् ? [भिडियाेसहित]

कुन शीर्ष नेता कोसँग भिड्दैछन् ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन र प्रारम्भिक नामावली प्रकाशनको काम सकिएको छ । बुधबार निर्वाचन आयोगले मनोनयन फिर्ता लिन उम्मेदवारलाई समय दिनुका साथै चुनाव चिह्नसमेत प्रदान गरेकाे छ । यो निर्वाचनमा प्रतिनिधिसभा तर्फ २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा २ हजार २ सय ९१ जना पुरुष र २ सय ३५ जना महिला छन् । यस्तै प्रदेश सभातर्फ कुल उम्मेदवार ३ हजार ४ सय ७६ जना छन् । जसमध्ये ३ हजार १ सय ७८ पुरुष र २ सय ९७ महिलाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । 

उम्मेदवारी मनोनयनका क्रममा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा तीब्र छ । यी क्षेत्रमध्ये केही क्षेत्रका पार्टीका शीर्ष र चर्चित नेताहरुबीच नै तीब्र प्रतिस्पर्धा देखिएको छ । मुख्य रुपमा २ वटा गठबन्धन बनाएर चुनावमा होमिएका दलका नेताहरु आफ्नै पूर्व सहकर्मीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । आजको इलेक्सन एक्सप्रेसमा हामी शीर्ष नेताविरुद्ध को-को छन् त मैदानमा ? यही विषयमा चर्चा गर्नेछौं ।  

केपी शर्मा ओली र खगेन्द्र अधिकारी
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महासमिति सदस्य खगेन्द्र अधिकारी मैदानमा उत्रिएका छन् । उनीहरु झापा क्षेत्र नम्बर ५ का उम्मेद्वार हुन । अधिकारी चुनाव लड्नैका लागि त्रिचन्द्र क्याम्पसको प्राध्यापक पद त्यागेर झापा ५ मा पुगेका हुन् । 

शेखर कोइराला र लालबावु पण्डित
२०७४ को निर्वाचनमा जस्तै यो पटक पनि मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितबीच चुनावी प्रतिस्प्रर्धा हुने देखिएको छ । नेकपा गठबन्धन बनाएर चुनाव लडेका पण्डितलाई २०७४ मा जस्तै यो पटक पनि कोइरालालाई हराउन भने सहज छैन । कांग्रेसभित्र अन्तर्घातको शिकार हुँदै आएका कोइरालालाई कांगेसजनले यो पटक साथ दिए भने जित निश्चित छ । किन कि सत्तागठबन्धन उनको पछि छ । शालिन नेताको छवी बनाएका पण्डित पनि मोरङका मतदाता माझ निकै लोकप्रिय मानिन्छन् । 

ईश्वर पोख्रेल र प्रदिप पौडेल
२०७४ सालको निर्वाचनमा कांग्रेस प्रवक्ता प्रकाशसरण महतलाई नराम्ररी हराएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलका प्रतिद्वन्द्वी हुन् कांग्रेस युवा नेता प्रदीप पौडेल । तनहुँमा चुनाव लड्ने नेता बढी भएपछि काठमाडौं सोझिएका पौडेललाई काठमाडौं क्षेत्र नम्बर ५ लाई नै आधार बनाएर राजनीति गरिरहेका पोखरेलविरुद्ध जित निकाल्न सहज भने छैन । तर माओवादीसहितका दलको साथ पाएका पौडेल पनि युवा पुस्तामा राजनीतिक हस्तान्तरण हुनु पर्ने तर्क गर्दैछन् । आफ्नो जित हुनेमा ढुक्क देखिएका पोखरेललाई पनि गठबन्धनविरुद्ध बाजी मार्न सहज भने पक्कै छैन । 

बालकृष्ण खाण र दीपक बोहोरा 
०७४ को निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका बालकृष्ण खाण वर्तमान सरकारमा गृहमन्त्री छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र पनि हुन् । उनको प्रतिद्वन्द्वीमा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय राप्रपाका नेता दीपक बोहरा छन् ।पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका बोहोराविरुद्ध जित निकाल्न खाणलाई सहज भने पक्कै छैन । अर्को तर्फ रुपन्देही ३ मा राप्रपा र एमालेबीच चुनावी सहकार्य छ । 

शंकर पोखरेल र रेखा शर्मा 
केन्द्रस्तरमा आफुलाई स्थापित गरिसकेका नेकपा एमालेका महासचिव शंकर पोखे्रल र माओवादी नेता रेखा शर्माबीचको चुनावी भिडन्तले केन्द्रमा चासो बढाएको छ । सत्तागठबन्धनको साथ पाएकी शर्मा पूर्व मन्त्री हुन् भने पोखरेल गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । संगठनमा राम्रो पकड बनाएका पोखरेललाई शर्माविरुद्ध जित निकाल्न सहज भने हुने छैन । कृष्णबहादुर महराको पनि क्षेत्र रहेको दाङ २ मा रेखा शर्मालाई पनि सहज भने हुनेछैन । 

विश्वप्रकाश शर्मा र अग्नि खरेल 
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वकानूनमन्त्री समेत रहेका एमाले नेता अग्नि खरेलबीच झापा क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुँदैछ । २०७४ को निर्वाचनमा नेकपा गठबन्धनका उम्मेदवारसँग पराजित शर्मा गृहनगरमा यो पटक भने हावी हुने देखिन्छन् । उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ । तर राप्रपाको साथ पाएका खरेल पनि कमजोर उम्मेद्वार भने पक्कै हैनन् । 

देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ
प्रदेशसभामा नै रहने इच्छा भएर पनि संघीय चुनावमा तानिएका नेता हुन् एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । उनका प्रतिस्पर्धी हुन् माओवादी केन्द्रका महासचिव देव गुरुङ । यसअघिका दुवै निर्वाचनमा लमजुङबाट बाजी मारेका देव जितमा ह्याट्रिकको योजनामा हुँदा पृथ्वी सुब्बा भने प्रदेशबाट संघमा जम्प गर्न चाहान्छन् । २०७४ सालको निर्वाचनमा एउटै गठबन्धनबाट चुनाव लडेका यी दुई गुरुङ यो पटक भने फरक मोर्चामा छन् । देवलाई सत्तागठबन्धनको साथ छ भने पृथ्वीलाई राप्रपासहितका नेताले सहयोग गर्ने अपेक्षा छ । 

उपेन्द्र यादव र सिके राउत 
सत्ता र सरकारलाई दाउमा राखेर एमालेसँग सहकार्य गर्न पुगेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई यो पटक जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनौती दिदैछन् । यसअघिको निर्वाचन क्षेत्र सुनसरी छाडेर सप्तरी–२ रोजेका यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हराउन कडै मेहेनत गर्नु पर्नेछ । यद्यपि एमालेको साथले यादवको पल्ला भारी रहेको आकलन गर्न सकिन्छ । राउतको संगठन पनि तराईमा बलियो रहेको अनुमान छ । 

कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेन
झापा निर्वाचन क्षेत्रनम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौला बीच यो पटक पनि प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको साथ पाएर सिटौलालाई पराजित गरेका लिङदेनलाई यो निर्वाचनमा पनि एमालेको साथसहयोग छ । तर माओवादी केन्द्रको सहयोगमा गत निर्वाचनको बदला लिन सकिने सोचमा सिटौला छन् । सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक पनि चुनावी मैदानमा छन् । यसअघिको निर्वाचनमा लिङ्देनलाई सहयोग गरेका पूर्वसञ्चारकर्मी पाठकले राप्रपाको भोट बढी तान्ने अनुमान छ । 

कमल थापा र दीपक सिंह 
मकवानपुर–१ मा पूर्वसहयात्री बीच प्रतिस्पर्धा हुँदैछ । राजतन्त्रको मुद्दा छाडेर लोकतन्त्रको पक्षमा उभिएका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग दीपक सिंह चुनावी मैदानमा उत्रिएका छन् । रापप्रपाका केन्द्रीय सदस्य समेत रहेका सिंहले थापालाई कडा चुनौती दिने पक्का छ । एमालेसँग सहकार्य गरेर सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेका थापाको चुनावी इतिहास मकवानपुरमा राम्रो भने छैन । पञ्चायतकालदेखि नै थापासँगै सहकार्य गर्दै आएका सिंह मंसिर चारको निर्वाचनमा तीनै थापाका प्रतिद्वन्द्वी हुन् । 

Logo