नेपालको तराईको तापक्रम ३९ डिग्री मापन, तातो हावाको लहर (लु) चल्ने सम्भावना

नेपालको तराईको तापक्रम ३९ डिग्री मापन, तातो हावाको लहर (लु) चल्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बिहीबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि मधेस प्रदेश, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियस मापन भएको र अब त्यो भन्दा पनि बढी हुने सम्भावना रहेका आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले धेस प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागका बेंसीमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए ।

उनका अनुसार सुदुरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा २१ गते बिहीबार अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौटहत, बारा, पर्सा, नवलपरासी पश्चिम ,रुपन्देही, कपिलवस्तु , बर्दिया, बाँके र दाङ रहेका छन् । अध्यावधिक गर्नुपर्ने जिल्लाहरुमा झापा, मोरङ,सुनसरी, मकवानपुर, चितवन, नवलपरासी पूर्व, कैलाली र कञ्चनपुर रहेका छन् ।

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न पनि अनुरोध गरेको छ ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

Logo