योग तथा प्राकृतिक चिकित्सा र चिकित्सकहरूको न्यायपूर्ण पहिचानको अपेक्षा

योग तथा प्राकृतिक चिकित्सा र चिकित्सकहरूको न्यायपूर्ण पहिचानको अपेक्षा


काठमाडाैं । नेपालको स्वास्थ्य क्षेत्रमा योग तथा प्राकृतिक चिकित्सा र होमियोप्याथीका चिकित्सकहरूले दशकौँदेखि महत्वपूर्ण योगदान दिँदै आएका छन्। सीमित स्रोतसाधन, नीतिगत अस्पष्टता तथा छुट्टै नियामक परिषद्को अभावका बाबजुद पनि यी चिकित्सकहरूले नेपालका विभिन्न क्षेत्रका नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।

यी चिकित्सा विधाका चिकित्सकहरू पनि अन्य चिकित्सा विधाका चिकित्सकहरू सरह प्लस टु पश्चात् पाँच वर्षभन्दा बढी अवधिको अध्ययन, प्रशिक्षण र चिकित्सकीय अभ्यास पूरा गरेर योग्य बनेका हुन्छन्। विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूबाट शिक्षा हासिल गरी देश फर्किएका धेरै चिकित्सकहरूले नेपालमै सेवा गर्ने चाहना राखे पनि आवश्यक कानुनी तथा संस्थागत व्यवस्थाको अभावले उनीहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

नेपाल सरकारले वि.सं. २०५७ सालमै प्राकृतिक चिकित्सालाई राष्ट्रिय चिकित्सा पद्धतिको रूपमा मान्यता प्रदान गरिसकेको छ। हरेक वर्ष नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा योग तथा प्राकृतिक चिकित्साको विकास र प्रवर्द्धनका विषयहरू समेटिने गरेका छन्। तर ती घोषणाहरू व्यवहारिक कार्यान्वयनमा रूपान्तरण हुन नसक्दा सरकारी संरचना, दरबन्दी तथा लोकसेवा प्रणालीमा अपेक्षित अवसरहरू अझै सिर्जना हुन सकेका छैनन्।

हरेक वर्ष नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा योग तथा प्राकृतिक चिकित्साको विकास र प्रवर्द्धनका विषयहरू समेटिने गरेका छन्।

स्वास्थ्य सेवा कुनै एक चिकित्सा पद्धतिको मात्र क्षेत्र होइन। आधुनिक चिकित्सा, आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा तथा अन्य मान्यता प्राप्त चिकित्सा पद्धतिहरूले आ-आफ्नो विशेषता र योगदान बोकेका हुन्छन्। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने साझा उद्देश्यमा सबै चिकित्सा पद्धतिहरूबीच सम्मान, सहकार्य र समन्वय आवश्यक छ।

एक चिकित्सक बन्न वर्षौँको अध्ययन, अथक मेहनत, आर्थिक लगानी र समर्पण आवश्यक पर्दछ। त्यसैले कुनै पनि मान्यता प्राप्त चिकित्सा विधाका चिकित्सकहरूलाई अवसर र पहिचानको दृष्टिले विभेद गरिनु उचित हुँदैन। समान योग्यता र शैक्षिक मापदण्ड पूरा गरेका चिकित्सकहरूलाई राज्यले न्यायपूर्ण अवसर प्रदान गर्नु समयको माग हो।

हाल देशमा स्वास्थ्य क्षेत्रको सुधार र पुनर्संरचनाबारे व्यापक बहस चलिरहेको सन्दर्भमा योग, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी क्षेत्रका चिकित्सकहरूको लामो समयदेखिको मागलाई पनि सकारात्मक रूपमा सम्बोधन गरिने अपेक्षा गरिएको छ। आवश्यक कानुनी संशोधन, उपयुक्त नियामक व्यवस्था तथा व्यावसायिक अधिकार सुनिश्चित गर्न सकेमा यस क्षेत्रका हजारौँ चिकित्सकहरूको भविष्य मात्र सुरक्षित हुने छैन, देशको स्वास्थ्य प्रणाली पनि अझ समावेशी र बलियो बन्नेछ।

समान योग्यता र शैक्षिक मापदण्ड पूरा गरेका चिकित्सकहरूलाई राज्यले न्यायपूर्ण अवसर प्रदान गर्नु समयको माग हो।

आजको आवश्यकता कुनै चिकित्सा पद्धतिबीच प्रतिस्पर्धा होइन, बरु सहअस्तित्व, पारस्परिक सम्मान र नागरिकको हितका लागि सहकार्य हो। राज्यले सबै मान्यता प्राप्त चिकित्सा पद्धतिहरूलाई समान अवसर र सम्मान प्रदान गर्दै अघि बढेमा नेपालको स्वास्थ्य क्षेत्र थप समृद्ध र प्रभावकारी बन्ने निश्चित छ।

यस न्यायपूर्ण अभियानमा आम नागरिक, नीति निर्माता तथा सरोकारवाला सबै पक्षको सकारात्मक साथ र सहयोग रहने विश्वासका साथ योग, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी चिकित्सकहरू आफ्नो पेशागत पहिचान, सम्मान र योगदानको उचित मूल्याङ्कनको अपेक्षामा छन्।

Logo