नेकपा एमालेका नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।
रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम -१ बाट टिकट नदिइएको आरोप लगाएका छन् । उनले स्वेच्छारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै आक्रोश व्यक्त गरे ।
‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो’ रावलले भने ।
आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको पनि उनको आरोप थियो ।
नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।
उनले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा राखेको, एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर -१ मा सिट छाडेको भन्दै ओलीको कडा आलोचना गरे ।































प्रतिक्रिया