४ वस्तुमा लगाइएको आयात प्रतिबन्ध थप दुई महिना लम्बियो

४ वस्तुमा लगाइएको आयात प्रतिबन्ध थप दुई महिना लम्बियो

केन्द्रबिन्दु
0
Shares

सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध  दुई महिना लम्ब्याएको छ । 

विदेशी मुद्रा सञ्चिति बढाउने भन्दै सरकारले गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइरहेको छ । प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रतिबन्ध यथावत् राखेको हो । 

अब चार वस्तुको आयात प्रतिबन्ध आगामी मंसिर २९ सम्म रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिएको छ । ०७९ वैशाख १३ अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।

निजी क्षेत्रले भने सरकारी निर्णयको विरोध गरेको छ । नेपाल समुद्रपार निकासी पैठारी संघले प्रतिबन्धित वस्तुको आयात तत्काल खुलाउनुपर्ने माग गरेको छ । बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको र अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि विदेशी विनिमय सञ्चितिमा ठूलो योगदान नगरेको भन्दै प्रतिबन्ध फुकुवा गर्न माग गरिरहेको छ । आयात प्रतिबन्धका कारण उल्टै सरकारको राजस्व गुमेको भन्दै तत्काल प्रतिबन्ध खोल्नुको विकल्प नरहेको नाडाको भनाइ छ । सरकारले भने मुलुकको वित्तीय अवस्थालाई दृष्टिगत गरी प्रतिबन्धलाई निरन्तरता दिएको दाबी गरेको छ । 

चार वस्तुको आयात रोके पनि सरकारले तस्करी हुने सुपारी, केराउ र मरीच आयात भने निर्बाध रूपमा खुलाएको छ । औद्योगिक प्रयोजनको नाम दिइए पनि सीमित व्यवसायीको स्वार्थमा सरकारले यी वस्तु आयात खुला गरेको बताइएको छ । 
 

Logo