मुख्यमन्त्रीको दौडमा को–को ?

मुख्यमन्त्रीको दौडमा को–को ?

केन्द्रबिन्दु
0
Shares

प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयन भएसँगैै ७ वटै प्रदेशमा प्रमुख दलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । 

कोही नयाँ अनुहारहरु छन् त कोही पुनः दोहोरिएका अनुहार छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र मधेस प्रदेशका  मुख्यमन्त्री लालबाबु राउत फेरि मुख्यमन्त्री बन्ने आशाका साथ प्रदेशसभामै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न चाहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्ता गठबन्धनबाट टिकट नपाउने देखेपछि पुनः भोजपुर (क) बाट प्रदेशसभाको उम्मेदवार बने । 

प्रदेश १ मा एमाले स्थायी कमिटी सदस्यद्वय हिक्मत कार्की र देवराज घिमिरेले प्रदेशसभामा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, भीम पराजुली र राजीव कोइराला, युवा नेता गुरुराज घिमिरे र प्रदेशमन्त्री केदार कार्की पनि प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । कांग्रेसका प्रदेश सभापति उद्धव थापाको नाम समानुपातिकतर्फ १ नम्बरमा छ । उनीहरूलाई मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । प्रदेश १ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । 

पूरा कार्यकाल मुख्यमन्त्री भएका लालबाबु पनि फेरि मुख्यमन्त्री बन्न चाहन्छन् । त्यसैले उनले संघीय सांसद्को बाटो छाडेर पुनः प्रदेशसभामा लड्ने निर्णय गरे । र मधेस प्रदेशका मुख्यमन्त्री राउतले जसपाका तर्फबाट पर्सा १ (ख) बाट चुनावी मैदानमा छन् । एमालेसँग चुनावी तालमेल गरेको जसपामा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव पनि मुख्यमन्त्रीको आकांक्षी छन् । 

मधेस प्रदेशमा लोसपाले पूर्वमन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेसबाट पार्टीका प्रदेश सभापति कृष्ण यादव र हालका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव मुख्यमन्त्रीको आकांक्षा छन् । वाग्मती प्रदेशमा कांग्रेसबाट प्रदेश सभापति एवं पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा उत्रिएका छन् । माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्री बनेका शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा उम्मेदवारी दर्ता गरेका छन् । एमालेका सानु श्रेष्ठ र रामेश्वर फुयाँल पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । 

गण्डकी प्रदेशमा एमालेले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई इच्छा विपरित प्रतिनिधिसभाको टिकट दिँदै एमालेले अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो । गुरुङ भने लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङसँग चुनाव लड्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ नाम सिफारिस भएका अधिकारीले कास्की १ (क) बाट उम्मेदवारी दिएका छन् । 

मुख्यमन्त्रीको आकांक्षासहित गण्डकीमा कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ १ नम्बरमा छन् । उनले प्रदेशसभामा सुरक्षित हुन खोजेका हुन् । हालका सूचना तथा सञ्चारमन्त्री बिन्दुकुमार थापा पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यत्रय जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका सम्भावित दावेदार हुन् । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षीको रुपमा रहेका छन् । 

एमालेका पोलिटब्युरो सदस्यद्वय वैद्धनाथ चौधरी र लीला गिरी पनि मुख्यमन्त्रीका सम्भावित उम्मेद्वार हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख) मा उम्मेदवारी दिए । शाहीलाई सत्ता गठबन्धनले हुम्लाको संघ वा प्रदेशमध्ये एक क्षेत्र रोज्ने अवसर दिएको थियो । तर शाहीले प्रदेशसभा रोजे । केन्द्रमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका शाही २०७४ को निर्वाचनमा कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फ निर्वाचित एक मात्र प्रदेश सांसद हुन् ।

कर्णालीमा एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेल र माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् । सुदूरपश्चिममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । कांग्रेसबाट केन्द्रीय सदस्य रणबहादुर रावल र एमालेबाट पोलिटब्युरो सदस्य राजेन्द्र रावल मुख्यमन्त्रीका आकांक्षी हुन् । एमालेका रावलको नाम समानुपातिकतर्फ १ नम्बरमा छ  ।

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा बहालवाला तीन मुख्यमन्त्रीले भने टिकट पाएनन् । सुदूरपश्चिम प्रदेश सरकारको पूर्ण कार्यकाल नेतृत्व गरेका त्रिलोचन भट्ट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ लड्न चाहन्थे । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट उनको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएको थियो । तर सिट बाँडफाँटमा डोटी एकीकृत समाजवादीको भागमा परेपछि भट्टको सम्भावना टर्यो ।

डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले टिकट पाए । माओवादीले भट्टलाई प्रदेशसभातर्फ डोटी (ख) मा उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिम समयमा शिवसिंह वलीलाई टिकट दियो । डोटी (ख) बाट सिफारिसमा परेका मीनबहादुर घर्ती मगर र प्रेम कुँवरले पार्टीले मुख्यमन्त्री भट्टको घोर अपमान गरेको उल्लेख गर्दै वलीको उम्मेदवारी अस्वीकार गरेको घोषणा गरे । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि सके प्रतिनिधिसभामा, नभए मुख्यमन्त्रीको सुनिश्चितासहित प्रदेशसभामै चुनाव लड्न चाहन्थे । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाए । रोल्पा (क) कांग्रेसको भागमा परेपछि केसी रोल्पा (ख) जान चाहान्थे तर माओवादीले उक्त क्षेत्रमा जोखबहादुर महरालाई टिकट दियो ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले समानुपातिकको खसआर्य समूहबाट प्रतिनिधिसभा सदस्य हुन चाहेका थिए । समानुपातिकको बन्दसूचीमा नाम नपरेपछि गत निर्वाचनमा जितेको नवलपुर–१ (क) बाट प्रत्यक्षतर्फ लड्न चाहेका थिए । तर पार्टीले जिल्ला सभापति महेन्द्रध्वज जीसीलाई टिकट दियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले पार्टीले आग्रह गर्दा पनि चुनाव लड्न चाहेनन् ।

प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा १४ जना मुख्यमन्त्री भए । तीमध्ये ६ जनाले मात्र प्रतिनिधिसभामा टिकट पाएका छन् । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीका तर्फबाट धादिङ–१ बाट उम्मेदवार बने । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीका तर्फबाट कालीकोटबाट उम्मेद्वारी दर्ता गराए । लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमालेका तर्फबाट दाङ–२ मा, प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुर र भीम आचार्यले सुनसरी–२ मा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

कुन प्रदेशमा को आकाङ्क्षी ?

प्रदेश १ः  राजेन्द्र राई (एकीकृत समाजवादी), हिक्मत कार्की र देवराज घिमिरे (एमाले), अमृत अर्याल, भीम पराजुली, राजीव कोइराला, उद्धव थापा, गुरुराज घिमिरे र केदार कार्की (कांग्रेस), इन्द्रबहादुर आङ्बो (माओवादी)

मधेस प्रदेशः लालबाबु राउत र विजय यादव (जसपा), जितेन्द्र सोनल (लोसपा), कृष्ण यादव र रामसरोज यादव (कांग्रेस)

बागमती प्रदेशः  इन्द्र बानियाँ (कांग्रेस), शालिकराम जमकट्टेल (माओवादी केन्द्र), सानु श्रेष्ठ र रामेश्वर फुयाँल (एमाले)

गण्डकी प्रदेशः खगराज अधिकारी (एमाले), शुक्रराज शर्मा र बिन्दुकुमार थापा (कांग्रेस), हरिबहादुर चुमान (माओवादी)

लुम्बिनी प्रदेशः जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री (माओवादी), अब्दुल रज्जाक, अमरसिंह पुन र डिल्ली चौधरी (कांग्रेस), वैद्धनाथ चौधरी र लीला गिरी (एमाले)

कर्णाली प्रदेशः जीवन बहादुर शाही (कांग्रेस), यामलाल कँडेल (एमाले), राजकुमार शर्मा (माओवादी)

सुदूरपश्चिम प्रदेशः खगराज भट्ट (माओवादी), रणबहादुर रावल (कांग्रेस), राजेन्द्र रावल (एमाले)
 

Skip This
Skip This
Logo