काठमाडौं ।
राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नु पर्ने अवस्था देखिएको बताएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पूरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको आयोगले बताएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएको बताएका हुन् ।
सोमबार कुराकानी गर्दै उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको तर कोरोनाका कारण हासिल नभएकाले परिमार्जन गरी अगाडि बढ्नु पर्ने स्थिति आएको बताएका हुन् ।
कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि समस्या देखिएको उनले बताए । अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउन सक्ने कँडेलले बताए ।
असार सम्मको लकडाउनपछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरी संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको उनले बताए । संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाँ कार्ययोजना बनाएर अगाडि बढनु पर्ने आवश्यकता रहेको पनि उपाध्यक्ष कँडेलले बताए ।
राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्र्न नसकिने अवस्था आएको पनि कँडेलले बताए । कार्यान्वयनमा रहेका आयोजनाहरुमा खासै असर नपरे पनि आयोजना सम्पन्न हुन लाग्ने समय बढ्ने देखिएकाले आयोजनाहरुको लागत समेत बढ्न जानेछ ।
कोरोनाको असर अर्थतन्त्रमा गम्भिर रुपमा परेकोले अब कोरोना रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउँदै आर्थिक क्रियाकलापलाई अगाडि बढाउनुको विकल्प नभएको पनि कँडेलले बताए । कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन छिट्टै आउने पनि उनले बताए । अध्ययन प्रतिवेदनले देशको अर्थतन्त्र जोगाउन र कोरोनाले पारेको असरलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने उनको भनाइ छ । अध्ययन प्रतिवेदनले राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनामा परेको प्रभाव न्यूनीकरणका लागि समेत सहयोग पु¥याउने विश्वास गरिएको छ ।
दीर्घकालीन सोच र पन्ध्रौं योजनाको लक्ष्य हासिल गर्न सरकारले देशको अर्थतन्त्रमा वृहत प्रभाव पार्ने विशिष्ट प्रकृतिका १८ वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडि सारेको थियो । रुपान्तरणकारी आयोजनाहरुको कुल लागत २५ खर्ब रुपैयाँ रहेको छ । त्यस्तै राष्ट्रिय गौरवका २२ वटा आयोजनाहरु पहिचान गरी सरकारले कार्यान्वयनको चरणमा लगेको छ । कोरोना महामारीको असरका कारण यी सबै आयोजनाहरुमा प्रभाव परेको छ ।































प्रतिक्रिया