बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । उनले भने, ‘प्रहरीले ७ दिनको म्याद माग्नुभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो । आईतवार प्रस्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ ।’
गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे । दोस्रो पटक थपिएको समय पनि सकिएपछि कार्तिक १ गतेका लागि अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज (बुधवार) अदालतमा उपस्थित गराइएको हो ।
अदालतले आज पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । उनी त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।





























प्रतिक्रिया