आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ ।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो । 

बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता उल्लंघनका उजुरी परेको, तर ३५ जना उम्मेदवारहरुले आचारसंहीता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए । 

आयुक्त भण्डारीले आचारसंहीता धेरै उल्लंघन हुने समय कार्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे । उनले निर्वाचन आचारसंहीता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहीता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए । 

उनले भने, ‘आजको मितिमा हालसम्म ३५ जनालाई स्पष्टीकरण सोधिसकेका छौँ । ८०/९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृतिलाई मूल्यांकन गरेर के गर्न सकिन्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ । ३५ जनाको अलिकति बढी नै कसुरजन्य क्रियामा आचारसंहीता उल्लंघन गरेको सन्दर्भलाई लिएर अलि गहन तरिकाले अध्ययन गरेर उहाँहरु छानबिनको पनि गहिरो छानबिनको, मसिनो छानबिनको विषय हुने र सजायको भागिदार हुनुहुने भन्ने हामीले देखेका छौँ । त्यसको अतिरिक्त उहाँहरुले सबैभन्दा बढी आचारसंहीता उल्लंघन गर्ने दल र दलका नेताहरु वा उम्मेदवारहरुमध्ये कोही आचारसंहीता उल्लंघन गर्ने समय भनेको १८ गतेदेखि २ गतेसम्म हो । त्यो समयमा उहाँहरुले बढी भन्दा बढी आचारसंहीता उल्लंघन गर्ने प्रयास गर्नुहुन्छ । अहिले आचारसंहीता उल्लंघन गर्नुभएको छैन भनेको होइन, आचारसंहीता विभिन्न समयमा विभिन्न तरिकाबाट भइरहेको छ ।’

उनले अगाडि थपे, ‘अनुसन्धान र कारबाही गरिरहेका छौँ, प्रमाणहरु संकलन गरिरहेका छौँ । प्रमाणहरु विश्लेषण गरिरहेका छौँ । त्यो प्रमाणको आधारमा हामी आयोगले कारबाही गर्न, सजाय गर्न, एक इन्चि पनि कुनै कसुर बाँकी राख्दैनौँ । यसपटक आयोग दण्डात्मक रुपमा प्रश्तुत हुन्छ । दल र दलका नेताहरुले कृपया तपाईहरुले सहमति गरेर मञ्जुर गरेको आचारसंहीता पूर्ण रुपमा परिपालना गर्नुस्, आयोगले भनेको त्यत्ति न हो । उहाँहरु कानून, ऐन, नियम बनाउने आचारसंहीता तर्जुमा गर्ने, आयोगलाई सहयोग गर्ने, अहिले होइन, म मान्दिन भनेर नियम उल्लंघन गर्न पाइँदैन । विभिन्न ठाउँमा अहिले पनि नेताहरुले अगुवा कार्यकर्ता भेला भनेर प्रशिक्षण जस्तो गरेर यस्तो गर्, नगर् भनिरहनुभएको छ । यसलाई भोट दे नदे भनिरहनुभएको छ । ती विषयका उजुरी पनि आयोगमा प्राप्त भएका छन् । त्यसको आधारमा उहाँहरुले के भन्नुभएको रहेछ भन्नेकुरा पनि हामीले प्रमाण संकलन गरेका छौँ ।’
 
निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण  जुटाउने काम गरिरहेको बताए । 

उनले भने, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरु हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईहरुलाई विदेशमा म पठाइदिन्छु, भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो, भन्ने हामीकहाँ उजुरी आएको छ । त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो की होइन ? उहाँलाई स्पष्टीकरण सोधेका छौँ । साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ । उहाँले दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ । आयोगसँग मजबुत रुपमा प्रमाण संकलन छ । त्यो संकलन प्रमाणहरु वस्तुनिष्ठ तहले उहाँले त्यसरी निर्वाचन आचारसंहीतालाई उल्लंघन गरेर कसुरजन्य क्रिया गर्दै अघि हिँड्नुभएको छ भने निश्चित रुपमा सजायको भागिदार हुनुहुनेछ । देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसहरुले शुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्ने हो भने पछि नीति कसरी दिनुहोला भन्ने छ ।’

Logo