वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो ।
बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए ।
घिमिरेले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए । गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको उनको भनाई छ ।
उनले भने,‘प्लाष्टिकका फूलहरु बिक्रीवितरण नगर्नु भनेर वातावरण विभागले आज सूचना दिएको हो । तर यो गत साउन १२ गते राजपत्रमा प्रकाशित सूचनाको जानकारी हो । सरकारको उदेश्य तिहार लगायतका चाडपर्वहरुमा प्लाष्टिक जन्य फूल तथा झल्लरहरुको बिक्रीवितरण रोक्नको लागि सूचना जारी गरिएको हो । यस्ता फूलको आयात गत साउनमा नै आयातमा रोक लगाइसकेको हो । भन्सारमा प्लाष्टिकबाट बनेका फूल,झल्लरहरु लगायतका वस्तुहरु आयात गर्न पाइँदैन । तर अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूलहरु तिहारमा बजारमा बिक्रीवितरणमा वा प्रयोग नगर्न सचेतनाको लागि सूचना जारी गरिएको हो ।’
महानिर्देशक घिमिरेले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताए ।
उनले भने, ‘बजारमा प्लाष्टिक जन्य फूलहरु प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं । शुक्रवार र शनिवार दिनभर माइकिङ गर्छौंं । माइकिङ गर्दै बजार अनुगमनमा जान्छौं । यस्ता फूलहरुको प्रयोग नगर्दा जानकारी गराएपछि पनि अनुगमन गर्दा यस्ता सामान बजारमा भेटियो भने कारबाही गर्ने चरणमा जान्छौं । आज पत्रिकामा सूचना प्रकाशित ग-यौं । भोली माइकिङ गर्छौंं । शनिवारबाट अनुगमनमा जान्छौं र बजारमा बिक्रीवितरण भएको भेटिएमा कारबाही गर्छौं । सरकारले राजपत्रमा प्रकाशित गरेर निषेध गरेका कुनै पनि वस्तुहरुको प्रयोग वा प्रतिबन्ध अवज्ञा गरेमा विभागको महानिर्देशकबाट १ लाखसम्म जरीवाना गर्नसक्ने र अनुगमन गर्दा वातावरण निरीक्षकले तत्काल २० हजारसम्म जरिवाना गर्न पाउने व्यवस्था छ । त्यही अनुसार नै कारबाही हुन्छ ।’































प्रतिक्रिया