बाबुराम भट्टराईको दाबीः ‘सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो’

बाबुराम भट्टराईको दाबीः ‘सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो’

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् । 

सोमवार गठबन्धनले आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् । उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए ।

अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए ।  

उनले भने, ‘हाम्रो प्रतिवद्धता भनेको संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरुमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ । त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन । त्यसैले यो गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ । न त उदारवादी लोकतन्त्रको ढंगले अघि जानसक्छौँ, न हिजोको जस्तो एउटा प्रणालीले अपनाए जस्तो सबै राज्यले मात्रै नियन्त्रण गर्ने अर्थतन्त्रको पक्षमा जानसक्छौँ । बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यक्ता हो । वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ । कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचाविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवद्र्धन गर्ने शक्तिहरु त्यो गबठन्धन अपवित्र गठबन्धन हो ।’
 
अध्यक्ष भट्टराईले विगतका तीतामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे। उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि बताए । 

Logo