काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक सोमबार बस्न लागेको हो ।
पार्टीभित्र देखिएको विवाद साम्य पार्न भन्दै शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय भीम रावल, सुरेन्द्र पाण्डे, पम्पा भुसाल र जनार्दन शर्मा रहेका छ ।
दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीलाई बाइ पास गरी गठन गरिएको कार्यदल आफूहरुलाई मान्य नहुने उनीहरुको चेतावनी छ । कार्यदल गठन गरिएपछि शीर्ष तीन नेताहरुले सचिवालय बैठक बोलाउन माग गरेका थिए । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग गरेका हुन् ।
शीर्ष नेताहरुको माग अनुसार सोमबार बिहानका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क छ ।गत साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।































प्रतिक्रिया