आगामी निर्वाचनका लागि दलहरूले चुनावी प्रतिस्पर्धा तिव्र पारेका छन्। मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
आगामी प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशका केही निर्वाचनमा क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। राष्ट्रिय राजनीतिमा प्रभाव राख्दै आएका 'हेभिवेट' नेताहरू कर्णालीमा चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण पनि कर्णालीका केही निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
कर्णाली प्रदेशमा १२ प्रतिनिधिसभा सदस्यका लागि ७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
कांग्रेस उपसभापतिलाई पुरानै प्रतिस्पर्धीको चुनौती
सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रतिस्पर्धामा छन्। पाँच दलीय सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका खड्का २०७४ को निर्वाचनमा भने पराजित भएका थिए।
नेता खड्कासँग एमालेका नेता ध्रुवकुमार शाही प्रतिस्पर्धामा उत्रिएका छन्। गत निर्वाचनमा शाहीले झन्डै ३ हजार मतान्तरले खड्कालाई पराजित गरेका थिए। गत निर्वाचनमा प्रतिस्पर्धा गरेका यी दुवै नेता पुनः आमनेसामने भएका छन्।
सत्ता गठबन्धनको उम्मेदवार बनेका नेता खड्का गठबन्धनको सहयोगमा गत निर्वाचनको हारको बदला लिने दाउमा छन्। यस क्षेत्रमा गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी भएका ठम्मर विष्ट एमाले प्रवेश गरेकाले खड्कालाई माओवादीबाट आउने मत नआउने खतरा पनि छ। तर त्यहाँको गठबन्धन भने गठबन्धन दलभित्रको मत एमालेतिर जाने कुराबाट रोक्ने तयारीमा छ।
गत चुनाव माओवादीकै कारण हारेका खड्का यो निर्वाचन भने माओवादीकै सहयोग लिएर अगाडि बढेका छन्।यसअघि ६ पटक संसदीय निर्वाचन लडेका खड्का पाँच पटक विजयी भएका भने एक पटक पराजित भएका छन्।
एमाले सुर्खेतका अध्यक्ष भइसकेका २०७४ मा पहिलो पटक खड्कालाई हराएर संसदीय राजनीतिमा डेब्यु गरेका थिए। नेता शाही पुनः जीत दोहोर्याउने दाउमा छन्।
जनार्दन शर्मालाई बागीले तनाव
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिम माओवादीले गरेको सशस्त्र युद्धको उद्गमस्थल हो। २०६४ यताका सबै चुनाव यस क्षेत्रमा माओवादीले जित्दै आएको छ। यो निर्वाचनमा पनि रुकुम पश्चिमबाट माओवादी नेता जनार्दन शर्मा उम्मेदवार बनेका छन्। अर्थमन्त्री शर्मासँग एमालेका नन्दराम शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्।माओवादी केन्द्रका उपमहासचिव समेत रहेका नेता जनार्दन सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनेका छन् भने नन्दराम एमालेका तर्फबाट उम्मेदवार बनेका छन्।
नेता जनार्दनलाई चुनौती दिएका नन्दराम शिक्षकबाट राजनीतिमा आएका हुन्। उनी एमाले रुकुम जिल्ला अध्यक्ष समेत हुन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट जनार्दनले कांग्रेसका गोपालजंग शाहलाई पराजित गरेका थिए। रुकुम पश्चिममा जनार्दन शर्माले प्रमुख प्रतिस्पर्धा एमालेसँगै सत्ता गठबन्धनकै दुई बागीको सामना गर्नुपरेको छ।
शर्माको निर्वाचन क्षेत्रमा माओवादीका युवा नेता केशव रावल र सत्ता गठबन्धन दल नेपाली कांग्रेसका युवा नेता तारक केसीको बागी उम्मेदवारी दिएका छन्। पार्टीभित्र असन्तुष्ट भएपछि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका रावलले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यता कांग्रेसको विद्यार्थी संगठन नेविसंघका नेता तारक केसीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धन दलभित्रकै दुई युवाले बागी उम्मेदवारि दिएका कारण नेता शर्मालाई तनाव दिएको छ। तर रुकुम पश्चिम विगतमा पनि माओवादीले जित्दै आएका कारण आफ्नो जीत पक्का हुनेमा उनी ढुक्क देखिन्छन्।
प्रकाश ज्वालाले जोगाउलान् त साख !
यसअघि एमालेले जित्दै आएको सल्यानमा यो निर्वाचनमा एमाले र पूर्व एमालेबिच चुनावी प्रतिस्पर्धा हुँदै छ। गत निर्वाचनमा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका प्रकाश ज्वाला यसपालि नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। उनलाई एमालेका राजेन्द्रवीर रायले चुनौती दिएका छन्।
नेकपा एसका उपमहासचिव समेत रहेका नेता ज्वालालाई पुर्वसहकर्मी रायले चुनौती दिइरहेका छन्। नेकपा एसका बलियो उम्मेदवार मानिने ज्वालालाई पूर्व पार्टीलाई पराजित गरेर जीत हासिल गर्न त्यति सजिलो भने देखिदैन। तर सत्ता गठबन्धनको साथ रहेकाले आफ्नो जीत सुनिश्चित हुने उनको दाबी छ।
संसदीय अभ्यासमा फ्लोर क्रस गराउने पहिलो नेता ज्वाला हुन्। तत्कालीन माओवादीका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि ज्वालाको नेतृत्वमा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेका थिए। एमाले विभाजनपछि उनी समाजवादीमा लागेका हुन्।
पूर्व मुख्यमन्त्री शाहीलाई नागेन्द्रको चुनौती
कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट चुनावी प्रतिस्पर्धामा छन्। माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीसँग एमाले नेता नागेन्द्र शाही (नेशनल) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचित भएका महेन्द्रलाई एमालेका नागेन्द्र यो निर्वाचनमा भने भारी पर्ने आकलन गरिएको छ। एमाले कालिकोटका प्रभावशाली नेता मानिने नागेन्द्र कालिकोटका इन्चार्जसमेत हुन्।
बस्नेतलाई युवा नेता आचार्यको चुनौती
कर्णालीको चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र हो जाजरकोट। माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत उम्मेदवार रहेको जाजरकोटमा एमालेका युवा नेता नीरज आचार्यले बस्नेतलाई चुनौती दिएका छन्।
पूर्व गृहमन्त्री समेत रहेका बस्नेतको प्रतिस्पर्धामा उत्रिएका नेता आचार्य युवामाझ लोकप्रिय मानिन्छन्। तत्कालीन नेकपा विभाजनपछि एमालेभित्र आन्तरिक विवाद हुँदा माधवकुमार नेपाल पक्षमा उभिएका नेता आचार्य १० बुँदे सहमतिपछि एमालेमै बसेका थिए। आचार्य एमाले केन्द्रीय निर्वाचन विभागका उपप्रमुख समेत हुन्।
बस्नेतलाई सत्ता गठबन्धनको साथ छ भने आचार्यलाई एमालेको। बस्नेत र आचार्यलाई जीवन रूपान्तरणका प्रवर्द्धक तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले पनि चुनौती दिएका छन्। यसअघि माओवादी केन्द्रमा रहेका कार्की पछिल्लो समय युवापुस्ताको रोजाइ बन्दै गएका व्यक्ति हुन्। स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा लागेका कार्कीले पनि बस्नेत र आचार्यलाई चुनौती दिनेछन्।
यस्तो छ जुम्लामा त्रिपक्षीय भिडन्त
कर्णालीको अर्को निर्वाचन क्षेत्र जुम्लामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। सत्ता गठबन्धनको तर्फबाट माओवादी नेतृ गोमा गौतम (कुँवर) उम्मेदवार बनेकी छिन् भने एमालेका तर्फबाट रतननाथ योगी र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी प्रतिस्पर्धामा छन्।
सत्ता गठबन्धनको बलियो क्षेत्रको रूपमा लिइएको जुम्लामा एमालेको जनाधार त्यति राम्रो नभए पनि राप्रपाका शाहीले भने सामाजिक अभियान मार्फत पछिल्लो समय जनाधार बलियो बनाउँदै लगेको बताइन्छ। प्रमुख प्रतिपक्षी दल एमालेसँगै राप्रपाका शाहीले सत्ता गठबन्धनलाई बलियो चुनौती दिने पक्का छ।































प्रतिक्रिया