मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धन गरेका पाँच सत्तारूढ दलबीच केही निर्वाचन क्षेत्रमा भने मित्रवत प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ताधारी दलबीच सातवटा निर्वाचन क्षेत्रमा गठबन्धन भत्किएको हो।
आगामी निर्वाचनका लागि चुनावी तालमेल गरी भागबण्डा गरेका पाँच दलले अब सात निर्वाचन क्षेत्रमा आपसमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
निर्वाचन क्षेत्र कसले छाड्ने भन्ने विषयमा सहमति हुन नसक्दा काठमाडौँका २ निर्वाचनमा गठबन्धन टुटेको घोषणा भएको हो । यी क्षेत्रमा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं ३ र काठमाडौं १० मा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै रामेछापमा कांग्रेस र समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
गठबन्धन सबैभन्दा बढी मधेस प्रदेशमा भत्किएको छ। मधेसका चार निर्वाचन क्षेत्रमा तालमेल नमिल्दा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारसँग सत्ता गठबन्धनका बाँकी चार दलबीच प्रतिस्पर्धा हुने भएको छ। जसअनुसार सप्तरी ३ मा कांग्रेस र लोसपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । धनुषा २ मा कांग्रेस र नेकपा एसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।
त्यस्तै, बारा २ मा कांग्रेस उम्मेदवार र माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ भने सर्लाही २ मा लोसपा र माओवादी केन्द्रका उम्मेदवार नै आमनेसामने हुने भएका छन्।
यसरी हुँदैछ सत्ताधारी दलबीच प्रतिस्पर्धा
मुलुकको संघीय राजधानी रहेको काठमाडौंको दुई वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलबीच सहमति हुन सकेन। जसकारण सत्ता गठबन्धनका मुख्य राजनीति दल नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच काठमाडौंका दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भएको हो।
कांग्रेसले काठमाडौं ३ मा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ भने माओवादीले बद्रीप्रसाद बजगाईंलाई। कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। त्यसैगरी काठमाडौं १० मा पनि कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुने भएको छ। काठमाडौं १० मा कांग्रेसले राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले अञ्जना विसंखेलाई टिकट दिएको छ। कांग्रेस उम्मेदवार केसीले २०७० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेका थिए। प्रतिस्पर्धामा उत्रिएका केसी र बिसङ्खे दुवै जना २०७४ को निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचनबाट सांसद बनेका थिए।
यसैगरी रामेछापमा पनि सत्ता गठबन्धन दलको प्रमुख दलबीच नै प्रतिस्पर्धा हुने भएको छ। देशभर चार दलीय गठबन्धन भए पनि रामेछापमा भने सहमति हुन नसक्दा गठबन्धन दल नै एक अर्काविरूद्ध प्रतिस्पर्धा उत्रिएका हुन् । एक मात्रै निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आधिकारिक उम्मेदवारलाई प्रतिस्पर्धी बनाएका छन्।
नेपाली कांग्रेसले पूर्णबहादुर तामाङ (कान्छा तामाङ)लाई उम्मेदवार बनाएको छ भने नेकपा एकीकृत समाजवादीले देवशंकर पौडेललाई उम्मेदवार बनाएको छ।
सत्ता गठबन्धन सबैभन्दा बढी भत्किएको मधेस प्रदेशमा हो। केन्द्रमा पाँच दलीय सत्ता गठबन्धन भए पनि मधेस प्रदेशमा मात्रै पाँच दलबीच सहकार्य भएको छ। बाँकी क्षेत्रमा गठबन्धनका चार दलबीच सहकार्य छ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि निर्वाचनको मुखैमा लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा इन्ट्री भएको थियो। लोसपाको आधार क्षेत्र रहेको मधेस प्रदेशमा सहमति हुन नसक्दा चार वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
पाँच दलीय गठबन्धन भनिए पनि कतिपय निर्वाचन क्षेत्रमा लोसपा र सत्ता गठबन्धनका अन्य दलबाट साझा उम्मेदवार हुन नसक्दा मधेस प्रदेशका चार निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ। जसअनुसार सप्तरी ३ मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो। कांग्रेसले सप्तरी ३ मा दिनेशकुमार यादवलाई उम्मेदवार बनाएको छ भने लोसपाले लक्ष्मीकान्त मण्डललाई अघि सारेको छ।
त्यसैगरी धनुषा २ मा कांग्रेस र नेकपा एसबीच प्रतिस्पर्धा हुने भएको छ। धनुषा २ मा कांग्रेसले रामकृष्ण यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एसले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ। बारा २ मा कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ। बारा २ मा साझा उम्मेदवार तय गर्न नसक्दा यी दुई दलबीच प्रतिस्पर्धा हुने भएको हो। बारा २ मा कांग्रेसले अजयकुमार चौरसियालाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले शिवचन्द्रप्रसाद कुसवाहलाई उम्मेदवार बनाएको छ।
लोसपाका नेता राजेन्द्र महतो नै उम्मेदवार बनेको क्षेत्रमा सत्ता गठबन्धनबीच सहमति हुन सकेन। जसका कारण नेता महतो उम्मेदवार बनेको सर्लाही २ मा सत्ता गठबन्धनका बाँकी चार दल र लोसपा उम्मेदवार महतोबीच प्रतिस्पर्धा हुने भएको हो। गठबन्धनले नेपाल समाजवादी पार्टी (नेसपा)का नेता महेन्द्रराय यादवलाई साझा उम्मेदवार बनाएको छ। उनले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न गर्दैछन्।
गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय समेत गरेको छ। सत्तारुढ गठबन्धनले मधेस प्रदेशमा पाँच दलीय र अन्य प्रदेशहरूमा चार दलीय गठबन्धन बनाएको थियो।
सत्ता गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले हस्ताक्षर गरेको विज्ञप्तिमा तालमेलको प्रयास गरे पनि सहमति हुन नसेका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ।ती स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ।’































प्रतिक्रिया