गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी छैन -नेता परियार

गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी छैन -नेता परियार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । 

आईतवार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री परियारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । 

उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धन भित्रका अन्य दलहरुसँग मिलेर सरकार बनाउने बताए ।  उनले गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र काँग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गरे । 

उनले भने– ‘हाम्रो पार्टीले अहिले गठबन्धनमा गएर विभिन्न राजनीतिक दलहरु सम्मिलित भएर १६५ निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर टिकट वितरण गरेका छौँ । मलाई के विश्वास छ र आम पब्लिकलाई पनि के विश्वास छ भने नेपाली काँग्रेस पहिलो पार्टी बन्छ भन्ने कुरामा दुविधा छैन । पहिलो कुरा, नेपाली काँग्रेस पहिलो पार्टी बन्छ । नेपालको वर्तमान संविधानको धारा ७६ को उपधारा २ ले दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउनसक्ने जुन प्रावधान छ । बहुमत आउने कुनैपनि दलको सम्भावना देखिँदैन प्रक्षेपण गर्दाखेरी । नेपाली काँग्रेस पहिलो पार्टी बन्छ र अन्य दलहरुसँग, गठबन्धन भित्रै रहेका दलहरुसँग मिलेर हामी नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउँछौ र यो संकल्पमा लेखिएका कुराहरु मलाई लाग्छ, काँग्रेसकै जस्तै माओवादी र समाजवादी पार्टीले ल्याउँछन् घोषणापत्र । त्यसकारण खासै धेरै अन्तर हुन्छ जस्तो लाग्दैन मलाई । जनतालाई दिनुपर्ने डेलिभरीका कुरामा खासै कुनै दलहरुसँग फरक पर्दैन होला नीतिगत रुपमा त्यसकारणले गर्दा हाम्रो यो संकल्पपत्र कार्यान्वयन गर्छौं भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’
 
सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली काँग्रेसका नेताहरुलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडी बढाएको उनले उल्लेख गरे । 

उनले भने– ‘विजयकुमार गच्छदार त्यो बालुवाटारको काण्डमा उहाँले एउटा प्रश्ताव मात्रै लानुभएको थियो । मन्त्रिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने । क्याबिनेटका अरु प्रधानमन्त्री लगायत मन्त्रीहरुलाई केही पनि नचलाउने । यो खालको प्रतिशोधपूर्ण निर्णय भएको थियो भन्ने कुरा नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको ठहर पनि थियो । उहाँलाई अहिले मुद्दा चलेको मात्रै हो । उहाँ दोषी भइसक्नुभएको छैन । भोलि सर्वोच्चले अथवा विशेष अदालतले उहाँलाई छुटकारा पनि दिनसक्छ । त्यसकारण हाम्रो पार्टीको एउटा केन्द्रिय नेता विजयकुमार गच्छदारलाई पनि हामीले टिकट दिएका छौँ । उहाँ सम्भवतः विजय भएर आउनुहुन्छ । भोलि यसको बारेमा हामी डिफेन्स गर्छौं । हाम्रो पार्टीका नेता विजयकुमार गच्छदारलाई टिकट दिएको कुरामा हामीलाई कुनै ग्लानी छैन ।’
 
सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै उनले गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरुले टिकट नपाएको बताए । दलित नेताहरुको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उनले बताए । e

Skip This
Skip This
Logo