निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ ।
आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिएका हुन् ।
‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले नेपालको संविधानले प्रदान गरेको नेपालको कुनै पनि भूभागमा आवतजावत गर्न पाउने हकलाई रोकटोक गर्दैन । तर‚ सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जानसक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन‚’ उनले भने ।
निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उनले आग्रह गरे ।
हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताए ।































प्रतिक्रिया