गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गरेका छन् । बुधवार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाणले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले भयरहीत वातावरणमा आफूले रोजेको मतदातालाई भोट हाल्न पनि आग्रह गरे । नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने उनले प्रतिवद्धता जनाए ।
गृहमन्त्री खाँणले जनताको दायित्व पूरा गर्ने कुरामा राष्ट्रिय राजनीतिको मुल धारमा समाहीत नभएका दलहरु पनि एक ठाउँमा उभिनुपर्ने बताए । उनले राजनीतिको मुल धारमा समाहीत नभएका दलहरुका कतिपय माग सम्बोधन गर्न राजनीतिक र प्रशासनिक रुपमा संशोधन कार्यको थालनी भइसकेको भन्दै मागहरु छिटो पूरा गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने, ‘यो निर्वाचनले नेपालको राजनीतिमा, नेपालको विकासमा नयाँ मार्ग पहिल्याउने छ । यो निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने क्रममा सरकारले प्रतिवद्धता लिएको छ । सरकार दृढ छ र यो निर्वाचनमा समस्त नेपाली दिदिबहिनी दाजुभाईहरु सहभागी भइ आफूले रोजेको, छानेको, विश्वास गरेको उम्मेदवारहरुलाई मतदान गर्नुहोस् । दलका नेता, कार्यकर्ता र समर्थकहरुलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु । अहिले पनि जुन दलले यो निर्वाचनमा भाग लिइसक्नुभएको छ । उहाँहरुलाई पनि म नेपाल सरकारको तर्फबाट म आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु, नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु, सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार छ । वार्ताको प्रक्रियाबाट यहाँहरुले अघि सार्नुभएका कतिपय मुद्दालाई सरकारले सम्बोधन पनि गर्नेछ ।’
गृहमन्त्री खाँणले निर्वाचन संविधानको सुन्दर पक्ष भएको उल्लेख गर्दै संविधानले नै नेपाली जनतामा सर्वोच्चता स्थापित गरेको बताए ।































प्रतिक्रिया