गण्डकीको लगातार दोस्रो जित

गण्डकीको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । 

गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो । कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन । उनले १ सय १६ बलको सामना गर्दा ८ चौका प्रहार गरेका थिए । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए । 

गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए । विपिन खत्रीको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । सुवास भण्डारी १४ रनमा आउट भए । 

कर्णालीका अनुज चुनाराले ४ विकेट लिए । प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले । 

जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । उता कर्णालीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

यस्तै बुधवार नै भएको अर्को खेलमा ज्ञानेन्द्र मल्लको टोली वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । यससँगै वागमतीले लगातार तेस्रो हार भोगेको छ ।

बुधवार मुलपानी क्रिकेट मैदानमा वागतमीले  प्रश्तुत गरेको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा ग-यो । पहिलो खेलमा नेपाल पुलिस क्लवसँग पराजित भएको वागतमी दोस्रो खेलमा प्रदेश  १ सँग निराश भएको थियो । 

लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । देवले १ सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।  त्यस्तै सन्दीप रजाइलीले पनि अविजित २९ रन जोडे । 

वागतमीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो । वागमतीका लागि कप्तान मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बला ४ चौका र १  छक्का प्रहार गरे । वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् । 

लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान २÷२ विकेट लिए ।

जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा रहेको छ । वागमती ३ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र  नेपाल पुलिसबीच खेल हुनेछ ।
 

Skip This
Skip This
Logo