‘अरु ठाउँको टेन्सन नलिनुस्, गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ’

‘अरु ठाउँको टेन्सन नलिनुस्, गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् । 

बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका हुन् । उनले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताए । उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गरे ।

उनले भने– ‘जितिहालिन्छ भन्नुभयो भने त्यो भन्दा क्षति, हाम्रो लागि आत्मघाति कुरा अरु हुँदैन । जितिहालिन्छ भन्ने त सोच्नै हुँदैन । ब्याटलमा जाने, यो ब्याटल नै हो । बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले । बुढापाकाले भन्छन् नि स्यालको शिकार गर्न बाघको तयारी गरेर जानुपर्छ भनेजस्तै । म विशेष रुपले तपाईहरुलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई र त्यसको प्रमुख नेतृत्वलाई बलियो हातसहित यस्तो रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भुमिका खेल्नसक्ने शक्ति आर्जन हुन्छ । त्यसकारण एक, एक भोटलाई कसरी संरक्षित गर्ने, कसरी त्यसलाई मतपेटिकासम्म पु-याउने भन्नेकुरा तपाई, हामी सबैले । किनकी यो राष्ट्रको, गोरखाको र हामी सबैको भविष्यसँग रिलेटेड छ । जितिहालिन्छ भन्ने दुध हाल्ने ठाउँमा म एउटाले पानी हालेर के होला र भन्दा भन्दा दुध पोखरी त पानी पोखरी भयो भनेजस्तो हुने त होइन कतै भन्ने कुरा पनि साथीहरुले सुनाउँदै हुनुहुन्थ्यो । त्यसकारण म तपाईहरुलाई पहिलाको भन्दा अझै ठूलो शक्तिको साथ, अझै धेरै मेहनत गरेर जानुप-यो । यति हामीले मेहनत ग-यौँ र एउटा रेकर्डसहित हेर्दाखेरी त्यहाँ देखिने बेलामा नै माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट । गोरखाबाट संसारमा माओवादी देखियोस् । अरु ठाउँमा कति जित्छौँ तपाईहरुले धेरै टेन्सन नलिनुस् । त्यो टेन्सन मैले लिएको छु । तपाईहरु गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो संकल्प तपाई, हामी सबैले लिनुप-यो । साझा संकल्प । यो सम्भव लियौँ भने असम्भव बिल्कुलै छैन । सम्भव छ । रेकर्ड बन्छ । गोरखा संसारमा फेरी नयाँ ढंगले देखिन्छ ।’
 
अध्यक्ष प्रचण्डले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । उनले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए । आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखावासीका लागि चुनौती भएको उनको भनाई छ ।  

उनले भने– ‘प्रचण्ड आउनु भनेको त अवसर भन्नुभयो धेरैले यहाँ । अवसर मात्रै होइन, चुनौती पनि हो तपाईहरुलाई । बडो झमेला छ क्या प्रचण्ड आउने भन्या । सजिलो चिज कहाँ आएको छ र ? मलाई अस्ती थाहा नै थिएन, बाजा बज्छ भन्ने नि थाहा थिएन । नोमिनेशनको दिन पञ्चे बाजा आउँछ भन्ने । जाँदा तलैबाट देखे मैले जनता स्वतःस्फूर्त आए खुशी भएर । त्यो मेरो योजनापनि होइन । मेरो निर्णय पनि होइन । तर निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले स्पष्टीकरण दिएँ । मलाई त यो सबै थाहा भएन । हामी मनोनयन गर्न जाँदा २५ जना मात्रै गएको हो भनेर दिए । आज आएको छ प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो छैन, त्यो बाजा कहाँबाट आएको हो अनुसन्धान गर भनेर निर्देशन दिएको छ । माइक्रोस्कोप लगाएर हेरेका छन् । प्रचण्ड कता कता जान्छ के के गर्छ । कहाँ बस्छ ? कहाँ पाइन्छ भनेर खोज्ने भयो नि । यो तपाईहरुको लागि चुनौती भएन त ? यसको रक्षा त हामी सबैले मिलेर गर्नुप¥यो नि । सुरक्षा चुनौती पनि हुनसक्छ । नेतृत्वको रक्षा गर्ने चुनौती त तपाईहरुलाई थपियो ।’
 

Skip This
Skip This
Logo