ठूला दलहरुले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन् -अध्यक्ष लिङ्देन

ठूला दलहरुले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन् -अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । 

शनिवार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताएका हुन् । विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको उनले बताए ।  

उनले भने, ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललितानिवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् । भन्दा अलगअलग पार्टी मारामार जस्तो गर्ने, खाने बेलामा एकै ठाउँ जम्मा हुने । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेका छन् । हामीले कहिल्यै नेदेखेको, कहिल्यै कल्पना नगरेको आज समाज विभाजित छ । हाम्रो एकता, सद्भाव, संकटमा परेको छ । देशको लागि सरकार बनाउने होइन, विदेशीहरुको सहज, खुशीका लागि हामी कम्फरटेबल सरकार बनाउँछौँ भन्छन् हाम्रा देशका नेताहरु । कहाँ गइरहेको छ देश । हामी नेपाली जनताका लागि सरकार बनाउँछाँै भन्नुपर्ने ठाउँमा विदेशीहरुको खुशी, सजिलोका लागि भनिरहेका छन् । विदेशीको लागि म प्रधानमन्त्री भएँ भने सजिलो हुन्छ । उनीहरु भनिरहेका छन् तर पनि हामी तिनीहरुलाई नेता मानिरहेका छौँ । नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्न थालेका छन् । नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री हुन सकिँदैन । प्रधानमन्त्री हुन सकिँदैन । भइयो भनेपनि टिक्न सकिँदैन भनेर विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको छ ।’
 
अध्यक्ष लिङदेनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आम जनताको आकांक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे । 

पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी प्रचारप्रसार तिब्र बन्दै गएको । विभिन्न दलका शीर्ष नेताहरुले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तिब्र पारेको छ ।   
 

Skip This
Skip This
Logo