कुलमानकाे अर्काे कमाल ! ८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारणकाे विद्युत पुग्यो

कुलमानकाे अर्काे कमाल ! ८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारणकाे विद्युत पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो चार वर्षमा मुलुकभर ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएकोमा चार वर्षभित्र २३.२८ प्रतिशतले वृद्धि भई अहिले ८६.४४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । अझै १३ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण लाइनबाट विद्युतीकरण हुन बाँकी रहेको छ ।

राष्ट्रिय ग्रिडमार्फत अहिलेसम्म सबैभन्दा बढी प्रदेश २ मा राष्ट्रिय प्रशारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युतको पहुँच पुगेको छ । प्रदेश २ का ८ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ ।

त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशका पुगेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख रहेको छ । कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । त्यस्तै, हालसम्म ९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङमा रहेको छ ।

र याे पनि

 

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको छ । अहिले प्रतिव्यक्ति विद्युत खपत २ सय ६० युनिट मात्रै रहेको छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय प्रशारण प्रणालीबाट (ग्रिड) ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अझै राष्ट्रिय प्रशारण ग्रिड पुगेको छैन । सबै जिल्लामा विद्युतको पहुँच पु¥याउनको लागि सरकारले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघुजलविद्युत (माइक्रो हाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ ।

प्रदेश २ पछि बागमती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको हो । यस प्रदेशका काठमाडौं, भक्तपुर र नुवाकोटमा पूर्ण विद्युतीकरण भएको छ । सिन्धुलीमा सबैभन्दा कम ६९.५१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ । मनाङमा सबैभन्दा कम ६४ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ ।

प्रदेश ५मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश ५का १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । गुल्मी, अर्घाखाँची र रुपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११.२५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

प्रदेश नं. १ मा ८२.४३ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नं. १ मा पर्ने १४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा ९७ प्रतिशत र सबैभन्दा कम सोलुखुम्बुमा १३.५५ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ र सुनसरीमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशमा पर्ने ९ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९२.७९ प्रतिशत र कम बझाङमा १०.२१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

Skip This
Skip This
Logo