संयुक्त लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार डा. सुनिलकुमार शर्माले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिने घोषणा गरेका छन् ।
निर्वाचन अभियानका क्रममा आयोजित कोणसभालाई संबोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले भ्रष्ट्राचार गर्नु वा घुस खानु आफ्ना लागि आमाको रगत खाए समान हुने भन्दै राज्यकोषबाट कुनै सुविधा नलिएर काम गर्ने घोषणा गरेका हुन् ।
उनले आफू समाज र राष्ट्रलाई दिनका लागि मात्र उम्मेदवार भएको र सांसद भएपछि पनि लिने भन्दा, यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आफ्नो ध्यान त्यसमा बढी भएको बताएका छन् । यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको पनि शर्माको भनाइ थियो ।
‘यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो’ उम्मेदवार शर्माले भने ‘कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु ।’
आज देशले भोगिरहेका अधिकांश समस्याको मुल कारण नै भ्रष्ट्राचार भएकोले भ्रष्ट्र राजनीतिक नेतृत्वलाई पराजित गर्न पनि शर्माले मतदातासमक्ष आग्रह गरे । उनले भने- ‘यहाँ जनता रोग र भोकले छटपटाइ रहेका बेला पनि कमिसन खानेहरु छन् । तिनैले देश बर्बाद पारे, अब जनताको हातमा फैसला गर्ने बेला आएको छ ।’
जनताले भष्ट्रहरुलाई चोट दिएर आफूलाइ भोट गर्नुपर्ने उम्मेदवार शर्माको भनाइ थियो ।





























प्रतिक्रिया