उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’को व्यवस्था हुनुपर्छः अधिवक्ता अर्याल

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’को व्यवस्था हुनुपर्छः अधिवक्ता अर्याल

केन्द्रबिन्दु
0
Shares

अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’को व्यवस्था हुनुपर्ने बताएका छन् । 

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टी भित्र ‘प्राइमरी इलेक्शन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले दलहरुलाई ‘प्राइमरी इलेक्शन’ का लागि निर्वाचन आयोगले निर्देशन नै दिनुपर्ने बताए । 

उनले भने– ‘पार्टीभित्र उम्मेदवार छनोटको क्रममा प्राइमरी इलेक्शन गर्ने । निर्वाचन आयोगले नै त्यसलाई निर्देशन नै दिने । किनभने त्यो लोकतन्त्रको पक्षमा छ । कहीँपनि संविधान, कानूनसँग द्वन्द्व हुँदैन । विधानमा यो कुरा पनि राख्ने गर है तिमीले भन्यो भनेदेखि र यो पालना गरेनौँ भने तिमीलाई यो हुन्छ । अर्थात् नेतृत्व नै दण्डित हुन्छ । पार्टीको नेतृत्व दण्डित हुन्छ भन्ने खालको कुरा ग-यो भने त्यो लागू पनि हुनसक्छ ।’
 
अधिवक्ता अर्यालले निर्वाचन आयोग स्वतन्त्र हुन नसकेको बताए । आयोगले कतिपय निर्णयहरु दलका ठूला नेताहरुलाई हेरेर गर्ने गरेको उनले आरोप लगाए । 

उनले भने– ‘दलिय प्रणालीलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित बनाओस्, लोकतन्त्रमुखी बनाओस् भन्नको लागि स्वतन्त्र निर्वाचन आयोगको परिकल्पना गरेको हो । तर निर्वाचन आयोग आफैँमा स्वतन्त्र रहेको छ कि छैन भन्ने कुरा विगतदेखि अहिलेसम्म हेर्दाखेरी स्वतन्त्र छ भन्ने कुरा हामीले महशुस गर्न पाएनौँ । पहिले मतपत्र च्यातिएर पनि निर्वाचन भएकै हुन् । कतिदिन स्थगित राखेर पछि फेरि गणना गरेर जिताइएको भन्ने कुराहरु छदैछन् । अहिलेकै निर्वाचनमा पनि कतिपय कुराहरु ठूला दलका ठूला नेताहरुलाई हेरेर निर्णय लिएको हो कि भन्ने खालको अवस्था छ । समानुपातिकमा समावेशी क्लष्टरहरुको पालना भएको छैन । क्लष्टरमा नै जाँदापनि जो नेताको नजिकको छन् । जो पैसा खर्च गर्न सक्छन् उनीहरुले पाइराखेको छ भन्ने कुरा छ । निर्वाचन आयोगले यस्ता कुराहरुमा बढी ध्यान दिनुपर्थ्याे । कानून त्यसमा अझ बढी सबलीकरण गर्नुपथ्र्यो । त्यो कुराहरु हुन सकिरहेको छैन ।’
 
अधिवक्ता अर्यालले स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएपनि विकल्प दिने औकातसहित नआएका बताए । उनले स्वतन्त्र उम्मेदवारहरुलाई पानीको फोकाजस्तै भनि टिप्पणी गरे । साना पार्टीहरु पनि अन्ततः अवसानतिर जानसक्ने उनको भनाई छ ।  

Skip This
Skip This
Logo