पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

केन्द्रबिन्दु
0
Shares

राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लव नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । आर्मीको ब्याटिङका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे । 

त्यस्तै, रोहितकुमार पौडेलले ८७ बलमा नौ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ७५ रन जोडेका थिए । कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए । 

बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै रासिद खान र ललित राजवंशीले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा चार विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो । ६७–३ को स्थितीमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक अवस्थामा डो-याएका थिए । बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १ सय ४० रन जोडे । आरिफले १ सय ९ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए । 

बलिङतर्फ आर्मीका तिब्र गतिका बलर विक्रम सोबले तीन विकेट लिए भने सुशान भारीको नाममा एक विकेट रह्यो ।

यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ । एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिवार हुनेछ । 

Skip This
Skip This
Logo