अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहो-याए । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे ।
अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । थापाले कोभिड महामारीमा राजनेताको छवी बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे ।
उनले भने- ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामथ्र्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं । कतिपयले यो छर्ने खालको भनेर आलोचना पनि गरेँ । त्यो बुझाईको कमी हो भन्ने मलाई लाग्दछ । गगन थापालाई मैले १५/१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएका आएका नेता हुन । २०६२/०६३ को आन्दोलनमा गगन थापा, प्रदिप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन् । काठमाडौंका सडकहरु तताएका हुन । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ । जीवनस्तरलाई उकास्नका लागि आन्दोलन गरियो । प्रशव वेदनका साथ संविधान लेखनमा होमियौं । एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो । धान्न सकिन्छ कि सकिदैन ? यसमा केही यथार्थहरु पनि छन् । केही भ्रम पनि छरिएको छ । तर, यो भद्दा खालको संरचनालाई नै हामीले चुस्त बनाउनु पर्नेछ ।’
वाग्लेले अगाडि थपे- ‘गगन थापालाई फेरी मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ । अहिले भइराखेका विकृतिहरुलाई हामीले सुधार गर्ने र नेपाल जस्तो गरिव मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको एउटा आर्केटेक्चर हामीले बनाउँछौं । र, गगन थापाले केपी ओलीको निरंकुश सरकारलाई पनि संसदमा एक्लै उभिएर कोभिडकालमा उत्तरदायी बनाउने काम गरेँ । उनले त्यतिबेला स्टेटम्यानको भूमिका निर्वाह गरेँ । नेता त उनी स्थापित रुपमै भए । ३ चोटी सांसद भए । राजनेतामै आउने खालको झलक पनि उनले पछिल्ला दिनमा देखाएका छन । मलाई लाग्छ–त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाई दियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ । उनको जुन भिजन छ, हामीहरुजस्ता मानिसहरुको टिम उहाँसँग छ । यसले अवको ५/१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं । हामी कहीँ बिक्दैनौं । हामीलाई कसैले किन्न सक्दैन । हामी कसैका गोटी बन्दैनौं । हामी आफैं सक्षम छौं । हामीसँग सवलीकरण, सक्षमताको एजेण्डा छ । यो कामको नेतृत्व गगन थापाले गर्दछन । त्यसका लागि हामीले बल पु-याई दिनु पर्दछ ।’
अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए ।































प्रतिक्रिया