निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ ।
निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे ।
सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको आरोप लगाए ।
उनले भने- ‘राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिकै कुरा गरेका छन् । तर त्यो बोलीमा मात्रै सिमित रह्यो । मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने यो विषयमा कुनैपनि पार्टी गम्भिर देखिएन । मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र हेर्दा आर्थिक समृद्धिका कुरा सबैले गरेका छन् । हामीले चाहेको त्यही हो । राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो । त्यो भइसकेको छ । जुन निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ यस्तो पार्टी नेतृत्वमा आउनुपर्छ । पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन र लागत कम गर्नसक्छ । त्यसले मात्रै समग्र जनतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नसक्छ । तर त्यतातिर कसैको ध्यान नै पुग्न सकेको छैन । राजनीतिक दलहरु समिति राजनीतिक एजेण्डाहरुमा रहेका छन् । अबको समयमा यो भन्दा माथि उठेर पूर्वाधारलाई पहिलो एजेण्डालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्ध बनाउने जुन पार्टीले गर्छ त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’
त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्वको सरकार हुनुपर्ने बताए । मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने उनले बताए ।
उनले भने- ‘अहिले नेपाल निर्वाचनमय भएको छ । हामीले विभिन्न राजनीतिक दलहरुलाई सञ्चारमाध्यममार्फत सबल र सक्षम मान्छे उम्मेद्वार भएर निर्वाचित हुनुपर्छ । राजनीतिक दलहरुले उम्मेद्वार चयन गर्दा नै जसले भोलिको नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न सकोस् जुनसुकै राजनीतिक पार्टीको भएपनि । हामी राजनीतिक आस्थाको रुपबाट कसैलाई केही भन्दैनौं । अबको यो निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने,अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व आवश्यक छ । नेपाली सधैँ गरिव भइरहनुपर्ने कर्ममा लिएर आएको होइन । मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने भनेको राजनीतिले नै गर्ने हो । राजनीति सुशासनले परिवर्तन हुने हो । सुशासन सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन हुनसक्छ । देशमा समृद्धि कायम हुनसक्छ । त्यो हुनुको लागि मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौं ।’































प्रतिक्रिया