आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमालेलाई सघाउने भएको छ ।
सो क्षेत्रमा आफ्नो पार्टीबाट दिएको उम्मेदवारी निस्क्रिय पारेर एमालेका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले जानकारी दिए ।
उक्त क्षेत्रमा राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार शान्ति केसी तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र प्रदेशसभा २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टुक्रेर कमल थापाको नेतृत्वमा नयाँ गठन भएको सो पार्टीले एमालेलाई सघाएको हो ।
नेकपा एमालेका तर्फबाट सो क्षेत्रमा किरण पौडेल मैदानमा उत्रिएका छन् । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष पनि हुन् । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन् । साथै प्रदेश सभातर्फ १ बाट रामप्रसाद अमगाई र २ बाट गणेशप्रसाद दुलाल उम्मेदवार बनेका छन् ।
काठमाडौं- १ मा २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । साथै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत चुनावी मैदानमा छन् ।





























प्रतिक्रिया