स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिए । 

उनले भने, ‘मतदान तथा मतगणना कार्यमा खटिनुभएका सम्पूर्ण जिम्मेवार कर्मचारी साथीहरु तपाईहरु यो महत्वपूर्ण जिम्मेवारीमा नियुक्ति भइ कार्य सम्पादन गर्न खटिनुभएकोमा म, निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट सबैलाई शुभकामना छ । मतदान अधिकृत, मत गणना अधिकारी र कर्मचारीको जिम्मेवारी पाउनु भनेको गर्वको विषय हो । यो गरिमालाई कायम राख्दै मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन आग्रह छ । नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्नुहोस् । व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रहेर कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नुहोस् । निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउन सक्दछन् । त्यसबाट सधैँ टाढा रहनुस् । सदैव प्रतिवद्ध भएर आफ्नो कार्यमा लाग्नुहोस् । निर्वाचनमा प्रयोग गरिएका मतपत्र मतपेटिका र अन्य निर्वाचन सम्बन्धी सामग्रीको दुरुपयोग कहीँ कतैबाट हुन नदिनुहोस् ।’
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । 

Skip This
Skip This
Logo