फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा जर्मनीले जापानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
अघिल्लो संस्करणमा समूह चरणबाट बाहिरिएको जर्मनी आफ्नो पुरानो छवी पुन: कायम गर्ने प्रयासमा हुनेछ । रुसमा दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी इतिहासमै पहिलो पटक समूह चरणबाट बाहिरिएको थियो । जर्मनी २० औं पटक विश्वकपमा सहभागी हुँदैछ । ४ पटक उपाधि जितेको टोली ब्राजिलको ५ पटक उपाधि जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छ ।
जापान लगातार सातौं पटक विश्वकप खेल्दैछ । जापानी टोलीका ८ खेलाडी जर्मन लिगमा खेल्ने हुनाले पनि एक अर्कासँग अधिकांश खेलाडी परिचित छन् । जापानले युरोपेली राष्ट्रविरुद्ध समूह चरणमा खेलेको पछिल्ला ७ मध्य २ मात्र हारेको छ । यसक्रममा ३ खेल बराबर र २ खेलमा जापान विजयी भएको छ ।
जापान र जर्मनीबीच विश्वकपमा पहिलो भेट हुन लागेको हो । यसबाहेक मैत्रीपूर्ण खेलमा भने दुई पटक खेलेका छन् । जर्मनीले १ खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । सन् २००६ मा भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।
जर्मनीले विश्वकपमा १ सय ९ खेल्ने क्रममा ६७ जित, २० बराबरी र २२ हार बेहोरेको छ । यता जापानले २१ खेलमा ५ जित र ५ बराबरी निकाल्दा ११ खेलमा पराजित भएको छ ।





























प्रतिक्रिया