रुसले बनाएको कोरोना भ्याक्सिन लगाउन फिलिपिन्सका राष्ट्रपति तयार

रुसले बनाएको कोरोना भ्याक्सिन लगाउन फिलिपिन्सका राष्ट्रपति तयार

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रूसले द्रुत गतिमा कोरोना भाइरसविरूद्ध भ्याक्सिन बनाउने प्रयास गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले खोपको परीक्षणमा सहभागी हुन इच्छुक रहेको पनि बताएका छन् ।

फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्ने छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘फिलिपिन्स रूससँग क्लिनिकल परीक्षण, भ्याक्सिनको आपूर्ति र उत्पादन गर्न तथा विश्वव्यापी स्वास्थ्य संकटकाललाई सम्बोधन गर्न रूसका एजेन्सीहरूसँग व्यवहारिक विषयमा काम गर्न तयार छ।’

रूसले बनाएको खोपको प्रभावकारितामा उनी विश्वस्त देखिएका छन्। रूसले फिलिपिन्सलाई भ्याक्सिन उपलब्ध गराउने बताएको छ।

कोरोना भाइरसबाट फिलिपिन्समा हालसम्म एक लाख ३९ हजार ५ सय ३८ जना संक्रमित भएका छन्। त्यहा २ हजार ३१२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ६८ हजार ४३२ जना निको भएका छन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोनाभाइरसको पहिलो र सफल भ्याक्सिन बनाएको घोषणा गरेका थिए  ।
पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताएका थिए । आफ्नी छोरीलाई कोरोनाभाइरसको संक्रमण भएको र यो भ्याक्सिन दिएपछि ठीक भएको दाबी पुटिनले गरेका छन् ।

भ्याक्सिनको परीक्षण स्वयमंसेवकहरुमा गरिएको थियो। त्यसबाट सकारात्मक नतिजा आएको र स्वयंमसेवकहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताएका छन् ।

उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको बताइएको छ । रुसी मिडियाहरूका अनुसार यो भ्याक्सिन मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको हो । राष्ट्रपति पुटिनले छिट्टै ठूलो परिमाणमा यसको उत्पादन थाल्ने घोषणा पनि गरेका छन् ।

विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाको भ्याक्सिन बनाउन तल्लीन छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिले १२० भन्दा बढी भ्याक्सिनहरु निर्माणका क्रममा छन् । ती भ्याक्सिनहरुको विभिन्न चरणमा परिक्षणहरु समेत भएका छन् ।

Logo