नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डलाई समान्य लक्ष्य प्रस्तुत गरेको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो । नेपालको मुख्य समस्या खराब ब्याटिङमै रह्यो ।
नेपालका लागि आठौं नंबरमा ब्याटिङमा आएका गुल्सान झाले सर्वाधिक २९ रन जोडे । साथै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसअघि नामिबियाविरुद्धको खेलमा उनले करिअरकै उत्कृष्ट प्रदर्शन गरेपनि आजको खेलमा भने जम्न सकेनन् । अर्जुन साउदले १८ रन, आशिफ शेखले १७ रन, आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै खेलाडी क्रिजमा टिक्न सकेनन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका कुशल भुर्तेल कट एण्ड बोल्ड हुँदै गोल्डेन डक भएर पेभेलिएन फर्किए ।
बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, मार्क वाटले २ विकेट तथा सफ्यान शरिफ र ब्राण्डन एमसीमुलनले समान एकएक विकेट लिए ।
नेपालले शृङ्खलाको पहिलो खेल वर्षाले प्रभावित बनेपछि नामिबियासँग अंक बाँडेका थिए । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।































प्रतिक्रिया