काभ्रे जिल्ला प्रशासनमा अब बार अनुसार सेवा, कुन दिन कुन स्थानिय तह ?

काभ्रे जिल्ला प्रशासनमा अब बार अनुसार सेवा, कुन दिन कुन स्थानिय तह ?

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

पछिल्लो समयमा काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भीड कम गर्न मङ्गलबारदेखि हुने सेवा प्रवाहमा नगरपालिकाहरुलाई बार अनुसार मात्रै सेवा प्रदान गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय काभ्रेपलाञ्चोकमा हुने गरेको सेवाग्राहीको भीडलाई कम गर्न जिल्लाका ६ वटा नगरपालिकालाई बार अनुसार मात्रै सेवा प्रदान गर्ने निर्णय गरेको हो । निर्णय अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकालाई आइतबार, मंगलबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकालाई सोमबार, बुधबार र शुक्रबार मात्रै सेवा प्रवाह हुनेछ ।

बाँकी सात वटा गाउँपालिकालाई भने हरेक दिन सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढिरहेको अवस्थामा सेवाग्राहीको भीड बढ्दै गइरहेको अवस्थामा मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि त्यसरी समय मिलाएको जनाएको छ ।

दश शय्याको आइसोलेसन बनाउन आग्रह

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले जिल्लामा कोरोना सङ्क्रमण तथा बिरामीको सङ्ख्या दैनिक रुपमा बढिरहेको भन्दै आगामी भदौ १ गतेभित्रमा जिल्लाका छ वटा नगरपालिकालाई अनिवार्य रुपमा न्यूनतम १० को शय्या आइसोलेसन निर्माण गर्न आग्रह गरेको छ । आगामी भदौ १ गतेभित्रमा तोकिएको सङ्ख्यामा शय्या निर्माण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन आग्रह गरेको हो ।

त्यस्तै लेभल तीनको कोभिड अस्पताल रहेको धुलिखेल अस्पतालले ५० बेडको आइसोलेसन र बनेपास्थित शिर मेमोरियल अस्पतालले २० बेडको आइसोलेसन शय्या निर्माण गर्न जिल्ला कमाण्ड पोष्टले निर्देशन दिएको छ । शिर मेमोरियल अस्पताललाई कोभिड लेभल तीनको अस्पताल बनाइने बनेपा नगरपालिका ५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पताललाई अब लेभल तीनको कोभिड अस्पताल बनाउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दर दिनदिनै बढ्न थालेपछि जिल्ला कमाण्ड पोष्टले उपचारका लागि थप व्यवस्थापन गर्न बनेपामा रहेको शिर मेमोरियल अस्पताललाई लेभल तीनको कोभिड अस्पतालको मान्यता प्रदान गर्नका लागि आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसैबीच जिल्ला कमाण्ड पोष्टले जिल्लाका विभिन्न पालिकाहरुमा रहेको क्वारेन्टिनमा भारत तथा तेस्रो मुलुकबाट आएका नेपाली नागरिकहरुलाई जनस्वास्थ्य मापदण्ड बमोजिम १४ दिनसम्म राखेर पिसीआर रिपोर्ट आएपछि मात्रै आफ्नो घरमा जान अनुमति दिइने र क्वारेन्टिनमा बस्दा सहज रुपमा समय व्यतित गर्न आवश्यक न्यूनतम सुविधाहरु इन्टरनेट र टेलिभिजनको व्यवस्था मिलाउन सबै पालिकालाई अनुरोध गरेको छ ।

पछिल्लो समयमा कोरोना परीक्षणको क्रममा बनेपा नगरपालिका–१३ जनागालमा रहेको सङ्घीय प्रहरी एकाइ कार्यालयमा कार्यरत सात जना सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सो कार्यालय रहेको क्षेत्रमा सिल गरिएको छ ।

कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले आइतबार बैठक बसी सङ्घीय प्रहरी एकाइ कार्यालय बनेपा जनागालमा कार्यरत सात जना सुरक्षाकर्मीलाई पिसीआर परीक्षणको क्रममा पोजेटिभ देखिई हाल उपचाररत रहेको हुँदा सो कार्यालयमा कार्यरत तथा सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक टे«सिङ गरी पिसीआर परीक्षण गर्नुपर्ने भएको हुँदा हाल त्यस क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।रासस

Skip This
Skip This
Logo