नेपालमा सडक सुरक्षाको माग पनि बढ्दै गएको भन्दै विज्ञहरुले सडक सुरक्षाको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।
सरकारले सडक सुरक्षाको लागि पर्याप्त मात्रामा श्रोत, साधनको परिचनालन गर्न नसकेकाले सडक दुर्घटनाहरु बढ्दै गएको विज्ञहरुले गुनासो गरेका हुन् । उनीहरुले विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम गर्दै शुन्य दुर्घटनाको योजनामा अघि बढ्न थालेपनि नेपालमा भने हालसम्म पनि सडक सुरक्षाको लागि आवश्यक श्रोत, साधन नै परिचालन गर्न नसकिएको बताए । नेपालले दुर्घटना न्युनिकरणको प्रयास र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिन आग्रह गरे ।
सञ्चारकर्मीसँगको कुराकानीमा सडक सुरक्षा सम्बन्धी विज्ञ डा.पुष्पराज पन्तले नेपालले सडक सुरक्षालाई गम्भीरताका साथ दिनुपर्नेमा जोड दिए । उनले नेपालमा दैनिक रुपमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपनि सडक निर्माण बाहेकका सडक सुरक्षाका लागि आवश्यक व्यवस्थापन हुन नसकेको बताए । सडक सुरक्षा संकेत तथा तालिम दिनका लागि सरकारले सडक सुरक्षामा प्राप्त बजेट नछुट्याउने लगायतका कमजोरीहरु गरिरहेको उनले बताए ।
उनले भने, ‘विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम भएपनि शुन्य दुर्घटनाको कन्सेप्टमा काम गर्दैछन् । दुर्घटना नै हुनुहुँदैन र दुर्घटनामा मानिसहरुको मृत्यु हुनुहुँदैन भन्ने कन्सेप्ट रहेको छ । स्वीडेनमा वर्षमा २०० जनाको मृत्यु हुन्छ । यो भनेको दिनको १ जना भन्दा पनि कम हो । उनीहरुले दुर्घटना शुन्यमा नै झार्न सकिन्छ भन्ने किसिमले नयाँनयाँ अनुसन्धानहरु गर्ने,स्रोतहरु परिचालन गर्ने जस्ता काम गरिरहेका हुन्छन् । हाम्रो देशमा दैनिक रुपमा समस्या बढ्दै गएता पनि सडक निर्माण बाहेक सडक सुरक्षाका उपायहरु, सडक सुरक्षा संकेत तथा तालिम दिने हिसावले सरकारले प्राप्त बजेट छुट्याइएको पाइँदैन । सडक दुर्घटना समस्याको पहिचान नभएर होला । स्रोतहरुको परिचालन पनि भएको छैन । सडक सुरक्षामा देखिएका समस्याको पहिचान नै भएको छैन जस्तो लाग्छ । आम नागरिक, नागरिक समाज,राजनीतिक दलहरुले समेत आवश्यक महशुस गरेका छन् ।’

विज्ञ डा. पन्तले नेपालको जनसंख्या युवाहरुको बढी भएकाले सडक दुर्घटनामा पनि युवाहरुको मृत्यु बढी हुने गरेको बताए ।
उनले भने, ‘सडक सुरक्षाको हिसावले अन्तराष्ट्रिय देशहरु भन्दा कुन स्थानमा रहेको छ भन्ने विषयको मापन गर्ने विभिन्न उपायहरु छन् । जसमा नेपालमा वार्षिक रुपमा सडक दुर्घटनाबाट कतिको मुत्यु वा घाइते हुन्छन् । त्यसलाई हेर्नुपर्छ । जस्तो प्रति एकलाख जनसंख्यामा कति मानिसहरुको सडक दुर्घटनामा मुत्यु हुनसक्छ । कतै एक लाखको ३५ सम्म र नेपालमा १६ जनाको मुत्यु भएको छ । एशियाको अन्य मुलुक भन्दा बढी हो । तर थाइल्याण्डमा नेपालको भन्दा बढी रहेको छ । नेपाल सडक सुरक्षाको हिसावले मध्यतिर पर्छ । नेपालको जनसंख्या युवा भएकाले सडक दुर्घटनामा युवा नै बढी मुत्यु र घाइते हुने भएकाले जतिसुकै मानिसहरुको मुत्यु भएकाले दैनिक करोडौंको क्षति भइरहेको हुन्छ ।’
विज्ञ डा. पन्तले नयाँ सडकहरु सुरक्षित बनाउनेदेखि भएका सडक संरचनाहरुलाई सुरक्षित गर्ने र सडक दुर्घटना पीडितका मुद्दालाई समेत राम्रोसँग समावेश गरेर नीति,निर्माण गर्नुपर्ने बताए । उनले केही राजनीतिक दलहरुले निर्वाचनताका सडक सुरक्षा सम्बन्धी मुद्दाहरुलाई समेटेको भएपनि पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । सडक सुरक्षा विषयमा छुट्टै ऐन बनाउनुपर्ने बताए ।
विज्ञ डा. पन्तले सडक सुरक्षा सम्बन्धी ऐन संसदमा अल्झिएर बसेको भन्दै चाँडो भन्दा चाँडो ऐन पास गर्नुपर्ने बताए । उनले सडक सुरक्षा परिषद्ले सडक सुरक्षा सम्बन्धी कामहरु गर्न नसकेको भन्दै परिषद्मा आवश्यक कर्मचारी खटाएर सडक सुरक्षामा ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने, ‘अब कच्ची सडकको छोडौं, पक्की सडकको कुरा गर्दा पनि कलंकी—कोटेश्वर चक्रपथदेखि लिएर यावत सडकहरुमा कस्तो छ भने डिजाइनको पनि समस्या छ । यदी शाखा सडकबाट मुल सडकमा आउन चाहनुहुन्छ भने रेडक्रसको जस्तो प्लसमा आउन त्यत्ति उपयुक्त छैन । त्यसले दुवैतिरबाट आउने गाडीहरु त मोसनमान हुन्छन् । गतिमान हुन्छन् । उनीहरुलाई बिस्तारै कुनै शाखा सडकबाट मेन सडकमा ग्रेजुअली आउने किसिमको संरचना हुन्छ, जसलाई अलि ठूलो क्षेत्रफल ओगटेको हुन्छ । तर एक्कासी रेडक्रसको जस्तो प्लस जंकसनमा आउँदा एउटा यो समस्या हुन्छ । पूर्व—पश्चिम राजमार्ग भन्नुहोस्, अन्य राजमार्ग भन्नुहोस्, शाखा सडक छुट्टिने ठाउँमा प्लसबाट नै छुट्टिने हो । हामी एल बनाएर नै घुम्नुपर्छ । बिस्तारै गयो भने कसैले कसैलाई इन्ट्रप्ट पनि गर्दैन । रोक्नु पनि पर्दैन, हेर्नुपनि पर्दैन । यो चाहीँ मुख्य सडकहरुको संरचनाको समस्या भयो । अर्को सडकमै पनि कुन लेनको काम के हो भन्नेकुरा पनि । पर्याप्त लेन नभएर पनि होला । रोकिराखेको ट्रकको पछाडि ट्याक्टरको पछाडि कतिपय गाडीहरु ठोक्किएर निधन भइरहेको छ । गाडी रोक्नुपर्छ तर त्यो लेन कहाँ हो भन्नेकुरा हाम्रो सडकमा व्यवस्था छैन । अर्को कुरा हाम्रो मिक्स ट्राफिक छ ।’

विज्ञ डा. पन्तले नेपालका सडकहरुमा पूर्वाधारको समस्या, जनचेतनाको कमी रहेको अध्ययनले देखाएको बताए । उनले दुर्घटनालाई कम गर्न सरकारले पूर्वाधार र जनचेताना बिस्तारको क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताए । उनले सडक संकेत, सडक व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए ।
उनले नेपालमा धेरै दुर्घटना चालकको गल्तीले भन्ने गरेको भएपनि सडकमा संकेतहरु कति राखेको छ भन्नेकुरा महत्वपूर्ण रहेको बताए । सडक बनाउने नाममा कमजोर बनाउनु भन्दा भरसक दुर्घटना नै नहोस् भन्ने हिसावले सडकको निर्माण गर्न जरुरी रहेको उनले बताए ।
उनले भने, ‘हाम्रो सरकारले पनि सातै प्रदेशमा ट्रमा सेन्टरहरु स्थापना गरेर नेपालका पूर्वपश्चिम राजमार्गमा त विभिन्न स्थानमा छ तर अझैपनि विदेशमा एक अर्कालाई सहयोग गर्ने भन्ने भावनाको किसिमले घाइतेलाई अस्पताल लगिएको छ भने त्यसलाई राम्रो हिसावले लिइन्छ । तर यताको समस्या कानूनी झमेलामा परिन्छ की भनेर मानिसले बिरामीलाई हात लगाउन नचाहने भनेर हिँड्ने अवस्था छ । उच्च प्रविधिको स्वास्थ्य सेवा जडित एम्बुलेन्सको व्यवस्था कम छ, त्यसमा पनि अस्पताल लगिहाले पनि रिफर गर्दिने सम्भावना छ, किनभने त्यहाँ उच्च गुणस्तरीय सेवा छैन । मान्छेपनि भोलि पुलिस केस पर्छ की भनेर इन्भल्व हुन चाहनुहुन्न । यी कारणले गर्दा दुर्घटना भइसकेपछिको स्याहार प्रभावित छ ।’
उनले सरकारले सडक सुरक्षको नीति, निर्माण र कानून बनाउँदा विज्ञहरुको सल्लाह, सुझाव, उपलब्ध तथ्यांक, तथ्यपरक इन्टरभेन्सनका कार्यक्रमहरुलाई ध्यान राख्न सुझाव दिए । उनले सरकारले सडक सुरक्षामा जनशक्ति विकासदेखि आर्थिक र प्राविधिक श्रोतहरुको व्यवस्थापन गर्नसके सडक सुरक्षामा नेपालले सकारात्मक परिणाम हासिल गर्ने बताए ।





























प्रतिक्रिया