वर्तमान सरकारको सबैभन्दा पहिलो प्राथमिकता कानुन निर्माण हो : मन्त्री गौतम

वर्तमान सरकारको सबैभन्दा पहिलो प्राथमिकता कानुन निर्माण हो : मन्त्री गौतम

केन्द्रबिन्दु
6
Shares

दोलखा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान सरकारले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सुधार अघि बढाएको बताएकी छन् ।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री गौतमले देश निर्माणका लागि लक्ष्य निर्धारण मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसअनुसारको कानुनी वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।

‘देश निर्माण गर्ने उद्देश्य राखेर मात्र हुँदैन, त्यसअनुसारको कानुनी वातावरण पनि सिर्जना गर्नुपर्छ। अहिले सरकारले सबैभन्दा पहिलो प्राथमिकता कानुन निर्माणलाई दिएको छ,’ मन्त्री गौतमले भनिन् ।

उनले सरकारले विकास निर्माणसँग सम्बन्धित आवश्यक कानुन निर्माण गरिसकेको उल्लेख गर्दै अब विकासका काम अघि बढ्ने वातावरण बनेको बताइन् ।

मन्त्री गौतमले पार्टीका कार्यकर्तालाई व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारसमक्ष प्रस्तुत गर्न आग्रह गरिन्। जनताको हितका विषयमा सरकार गम्भीर र समाधानमुखी ढङ्गले अघि बढिरहेको उनको भनाइ थियो ।

‘तपाईँहरूलाई जे समस्या परे पनि हामी छौँ। अनावश्यक व्यक्तिगत कुरा नल्याइ जनताका हितका विषय लिएर आउनुहोस्, समस्या समाधान गर्न सरकार अत्यन्त प्रयत्नशील छ,’ उनले भनिन्।

Logo