काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरूलाई सम्मान गरिएको छ। काठमाडौंमा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनका अवसरमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका इन्टरनेट पूर्वाधार विकासमा योगदान पुर्याएका अभियन्ताहरूलाई सम्मान गरिएको हो।
इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार सम्मानित हुनेमा नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले रहेका छन्। उनीहरूले इन्टरनेट दैनिक जीवनको अभिन्न हिस्सा बन्नुअघि नै सर्वसाधारणसम्म इन्टरनेटको पहुँच विस्तार गर्न तथा व्यावसायिक इन्टरनेट सेवाको विकासमा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरिएको जनाइएको छ।
विज्ञप्तिअनुसार नेपालका गौरवराज उपाध्यायलाई यसअघि नै एसिया–प्रशान्त क्षेत्रका अग्रणी इन्टरनेट अभियन्ताका रूपमा सम्मान गरिसकिएको छ। उपाध्याय सानोगका संस्थापकसमेत हुन्।
सम्मानित अभियन्तामध्ये भारतका नीरज सोनकरले सन् १९९५ मा भिएसएनएलमार्फत भारतको पहिलो व्यावसायिक इन्टरनेट सेवा ‘जिआइएएस’ सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टम (बीबीएस) मार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चारसँग जोड्न योगदान दिएका थिए।

बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकाससहित तीन दशक लामो योगदानका लागि सम्मान गरिएको हो भने भुटानका जिचेन थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क विस्तारमा पुर्याएको योगदानका लागि सम्मान प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
नेपालबाट सम्मानित दिलीप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वल्र्डलिंकको स्थापना गरेका थिए। उनको नेतृत्वमा वल्र्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित भएको छ। हाल कम्पनीको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ भने नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक वल्र्डलिंकको सञ्जालमार्फत प्रवाह हुने गरेको विज्ञप्तिमा जनाइएको छ।
अग्रवालको नेतृत्वमा वल्र्डलिंकले डायल–अप इन्टरनेटबाट मेट्रो इथरनेट हुँदै देशकै ठूलो ‘फाइबर टु द होम’ (एफटीटीएच) नेटवर्कमध्ये एक निर्माण गरेको र कर्णालीसहित दुर्गम क्षेत्रसम्म उच्चगतिको ब्रोडब्यान्ड सेवा विस्तारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ। नेपालमा दक्षिण एसियामै उच्च ब्रोडब्यान्ड पहुँच हासिल गर्न उनको योगदान महत्वपूर्ण आधार बनेको विज्ञप्तिमा उल्लेख छ।
इन्टरनेट इनेबलर्सका अनुसार कोभिड–१९ महामारीपछि आयोजित पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनका क्रममा यस सम्मानको अवधारणा विकसित भएको हो। इन्टरनेटले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा ठूलो परिवर्तन ल्याए पनि यसको आधार निर्माण गर्ने इन्जिनियर, नेटवर्क अपरेटर, शिक्षक तथा प्रविधि अभियन्ताहरूको योगदान अझै व्यापक रूपमा चिनिन नसकेको भन्दै उनीहरूको योगदानलाई सम्मान गर्न यो पहल सुरु गरिएको जनाएको छ।
संस्थाले एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेटको इतिहास संरक्षण गर्दै डिजिटल पूर्वाधार निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूको पहिचान र सम्मान गर्ने उद्देश्यका साथ ‘इन्टरनेट इनेबलर्स अवार्ड’ प्रदान गर्दै आएको जनाएको छ।




















