‘एमाले सत्ता गठबन्धन नटुटेसम्म सरकार बनाउने सोच राख्दैन’ -उपमहासचिव रिमाल

‘एमाले सत्ता गठबन्धन नटुटेसम्म सरकार बनाउने सोच राख्दैन’ -उपमहासचिव रिमाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको उपमहासचिव रिमालले बताएका हुन् । उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताए । 

उपमहासचिव रिमालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताए । 

प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसावले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ ।

उनले भने, ‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुुपर्दछ । प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसावले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ । राष्ट्रपति भन्नुस्, उपराष्ट्रपति भन्नुस् । सभामुख, उपसभामुख भन्नुस् । राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष भन्नुस् ।  प्रदेश प्रमुख, सभामुख भन्नुस् । यी सबै चिजहरु साझा भुमिका निर्वाह गर्ने महत्वपूर्ण अंगहरु हुन् । त्यसपछि संवैधानिक निकायका धेरै कुराहरु पनि आउँछन् । यी सबै कुराहरुमा कसरी समझदारीमा अघि बढ्ने भन्ने कुरा चाहीँ गठबन्धनमा रहेका नेता, नेपाली काँग्रेसले सोच्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सोचिएन भने अंक गणितले निर्धारण गर्नेकुरा हो गरिहाल्छ । त्यसमा हामीले धेरै टिप्पणी गर्न सक्दैनौं । तर त्यसले ल्याउने असमझदारीले चाहीँ मुलुकमा अस्थिरता आउँछ । यसले मुलुक हीत गर्दैन । राजनीतिप्रति वितृष्णा बढ्छ । त्यो नहोस् भन्ने हाम्रो चाहना हो ।’

गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बताए । उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए ।  

झन्डैझन्डै हाम्रा ३६ जना उम्मेदवारहरुमाथि हराउने लिस्ट बनाएर क्याम्पियन नै चलाइएको थियो । जसमा आधिजसो साथीहरुले पराजय भोग्नुपरेको छ ।

‘काँग्रेस र हामी अहिले पचासको दौडमा छौँ । ५०/५० जितिसक्ने स्थितिमा । ७० सिट प्राप्त गर्न दौडिँदै छौँ । जसले ७० कटाउँछ, उसले ८० पनि पु-याउँछ । जुन पार्टीले ७० सिट ल्याउन सक्दैन, त्यो ६० भन्दा तल नै रहन्छ भनेको थिएँ मैले । त्यो हिसावले हेर्दा काँग्रेस पनि ६० सिट तल नै रह्यो । हामी त ५० पनि पुगेनौं । ५० चाहीँ पुग्छौं भन्ने मलाई किन पनि लागिराखेको थियो भने धेरै अनपेक्षित सिटहरु गएका छन् । मैले नाम नै लिएर भन्नुपर्दा धनुषा २ नम्बर क्षेत्र हामीले हार्ने ठाउँ नै होइन । त्यो जबरजस्ती हारिएको घोषणा गरिएको छ ।’ उनले भने, ‘यद्यपि सो निर्णयलाई हामीले स्वीकार गरेका होलाऊँ । त्यसपछि कपिलवस्तुको २ नम्बर हामीले हार्ने ठाउँ नै होइन । त्यो गएको छ । हाम्रो महासचिव नै उठेको ठाउँ, त्यो हार्ने ठाउँ नै थिएन । त्यो हामीले हारेका छौं । यस्ता केही सिट, जसले ५० सिट कट्थ्यो । ती सिटहरु गएका छन् । झन्डैझन्डै हाम्रा ३६ जना उम्मेदवारहरुमाथि हराउने लिस्ट बनाएर क्याम्पियन नै चलाइएको थियो । जसमा आधिजसो साथीहरुले पराजय भोग्नुपरेको छ । जसले गर्दा पनि हाम्रो संख्या मिलिरहेका छैन । अब प्रतिशत डाउनको हिसावले हेर्दा चाहीँ मैले कसरी व्याख्या गर्छु भने ६ प्रतिशत कम भएको छ हाम्रो पपुलर भोट, २०७४ सालको तुलनामा ।’

उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भएपनि अंक गणितका हिसावले ठूलो बन्न नसकेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमालेमा स्वतन्त्रताको भिन्नता रहेको बताए । नेपाली काँग्रेस गठबन्धनमा रहेका कारण स्वतन्त्र बन्न नसक्ने तर नेकपा एमाले भने आफू अनुकूलको निर्णय गर्नसक्ने उनले बताए । उनले अहिलेको गठबन्धन जनताहरुबाट अस्वीकृत भएको कुरा निर्वाचन परिणामले देखाइसकेको बताए ।  

हामी अहिले सरकार गठनका लागि संख्या पु-याउने सुगमतामा छैनौं । किनभने गठबन्धन रहेसम्म उसलाई सजिलो छ हामीलाई भन्दा । गठबन्धनले ५/७ सिट जम्मा गर्दाखेरी उसको बहुमत पुग्छ ।

‘अब हेर्दाखेरी दुवै लार्जेस्ट पार्टी एमाले र काँग्रेसको आधार उस्तै देखिन्छ । एक प्रतिशत जति फरक छौं हामी र काँग्रेस । हामी अहिले सरकार गठनका लागि संख्या पु-याउने सुगमतामा छैनौं । किनभने गठबन्धन रहेसम्म उसलाई सजिलो छ हामीलाई भन्दा । गठबन्धनले ५/७ सिट जम्मा गर्दाखेरी उसको बहुमत पुग्छ । १३८ को म्याजिक नम्बर उसलाई पुग्छ । तर हामीलाई पुग्दैन । त्यसो भएको हुनाले जबसम्म गठबन्धन रहिरहन्छ, ती पार्टीहरु स्वतन्त्र छैनन् । पार्टी स्वतन्त्र नभएपछि अरु विकल्पमा कुरा हुँदैन । अरु विकल्पमा कुराकानी नहुने भएकाले एमालेले सरकार बनाउने कि भनेर सोच्नु चाहीँ उचित हुँदैन । त्यो चाहीँ बेठिक हुन्छ जस्तो हामीलाई लाग्दछ । एमालेको दृष्टिकोण त्यहाँ रहन्छ । यदी गठबन्धन भित्रका दलहरु पनि हामी जत्तिकै स्वतन्त्र भए भने चाहीँ यहाँले भन्न भएजस्तै सरकार गठनका लागि सरकार गठनका लागि ३/४ वटा विकल्प रहन्छ । एउटा विकल्प दुुई वटा राष्ट्रिय शक्ति मिलेर मुलुकमा स्थिरता दिऊँ भन्ने हिसावले काँग्रेस र एमालेको सहमतिको सरकार ।’ उनले भने- ‘अर्को विकल्प वामपन्थीहरु सबै आउट भएर काँग्रेसको नेतृत्वमा गैर वामपन्थीको सरकार बन्ने । गैर वामपन्थी आउट भएर एमालेको नेतृत्वको वामपन्थी प्लसको सरकार बन्ने तेस्रो विकल्प । र, अर्को विकल्प भनेको चाहीँ दुवै तिरको सुगमताका साथीहरु मिलेर बनाउने । यी खालका परिदृश्यहरु आउन सक्थे । अब अहिले त ती परिदृश्यहरुलाई पनि गठबन्धन भंग नभएकाले सुविधा छैन । गठबन्धनमा रहेका साथीहरु त बहुमत जुटाउन लागिरहनुभएकै छ । मैले हिजो मात्रै प्रचण्डजीको एउटा न्युज पढेको थिएँ–६० सिट म कमाण्ड गर्छु भनिरहनुभएको छ । उहाँले ६० सिट कमाण्ड गर्नुभयो । र, उतातिर ८९ सिट भएको काँग्रेस त्यही रह्यो भने उहाँहरुलाई बहुमत पु¥याउन सुविधा छ । उता बहुमत पुग्छ भने हामीले सरकार बनाउछौं भनेर हिसाव गर्नु उपयुक्त हुँदैन । त्यसकारण हामीले राजनीतिमा यो नै अंकगणिको हिसाव गर्नुपर्छ होला जस्तो लाग्छ । मैले एउटा शब्द प्रयोग गर्दै आएको छु–सरकारको नेतृत्व गर्ने र राज्य सञ्चालन गर्ने अलग कुरा हो । राज्य सत्ताका दुई वटा पाटो रहन्छ । एउटा सत्तापक्ष र अर्को विपक्ष । यदी गठबन्धन सत्तापक्षमा रहन्छ भने उसले विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गयो भने स्थिरता आउन सक्छ । असमझदारी भएको खण्डमा मुलुकले पनि दुःख पाउँछ । र, राजनीति बढी अस्थिरताको चक्रमा जान्छ भन्ने मलाई लाग्दछ ।’

उपमहासचिव रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले नेपाली काँग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए । नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दापनि गठबन्धनको भुमिकालाई नियालीरहेको उनले बताए । 

हामी चाहीँ अहिले ध्यानपूर्वक गठबन्धनको भुमिकालाई नियालीरहेका छौं । गठबन्धन टुटछ, एउटा स्थिति आउँछ । फेरि विकल्पबारे छलफल होलान् ।

उनले भने- ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा हामीलाई सबै थाहा छ । उसका दृष्टिकोण, दर्शन, जान चाहेको बाटो सबै हामीलाई थाहा छ । हामी उनीहरुसँग संवाद गर्नसक्छौैं । तर, राष्ट्रिय स्वतन्त्र पार्टीबारे चाहीँ हामीलाई सबै थाहा छैन । त्यसको सभापतिको बारेमा हामीलाई जानकारी छ । उहाँ पहिला मिडियाकर्मी हुनुहुन्थ्यो । र, उहाँ चर्चित हुनुहुुन्छ । त्यो बाहेक अरु नेताहरुको बारेमा हामीले बुझ्न बाँकी नै छ । र, उहाँहरुले हामी यसरी जान्छौं भनेर सार्वजनिक रुपमा भन्नु पनि भएको छैन । त्यो नभनेसम्म हामी उहाँहरुको बारेमा धेरै बोल्न पनि सक्दैनौं । यसबारे धेरै बोल्ने हामीलाई ठाउँ पनि छैन । त्यसकारण सो पार्टीको धारणा हामीले पर्खिराखेका छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा त हामी सम्भवतः सल्लाह गर्नसक्छौं । किनभने हामी चुनावमा तालमेलमा पनि थियौँ । राप्रपा पनि सरकार बनाउनु पर्छ भनेर हिँडिरहेको छैन । हामीले पनि सरकार बनाउने भनेर भनिराखेका छैनौं । हामी चाहीँ अहिले ध्यानपूर्वक गठबन्धनको भुमिकालाई नियालीरहेका छौं । गठबन्धन टुटछ, एउटा स्थिति आउँछ । फेरि विकल्पबारे छलफल होलान् । गठबन्धन कायमै रहँदा हामीसँग एउटै विकल्प कायम रहन्छ–रचनात्मक विपक्षको भुमिका निर्वाह गर्ने । त्यसका लागि सरकारमा नजाने दलहरुसँग राम्रो सहकार्य गर्छ र एमालेले एजेण्डालाई व्यवस्थित गर्छ ।’

Skip This
Skip This
Logo