अरबी पहिरनमा विश्वकपको ट्रफी फिफा अध्यक्ष जियानी इन्फान्टीनोको हातबाट लिन नपाउँदै ट्रफी चुम्न आतुर थिए मेसी । इन्फान्टीनोको हातमै रहँदा मेसीले ट्रफीमा एक चुम्बन गर्न भ्याइसकेका थिए । जब अध्यक्ष इन्फान्टीनोले विश्वकपको ट्रफी मेसीको हातमा थमाइ दिए तब उनले ट्रफीलाई चुम्बन गर्दै रगडे सानो बच्चालाई झै सुम्सुमाए । त्यसपछि सहकर्मीहरुका सामु गई जिस्कने हाउभाउका साथ ट्रफीलाई भारी भएजस्तो तलमाथि उठाउँदै मध्यभागमा गए । मध्यभागमा पुगेर मेसीले बिजयी भाव सहित ट्रफीलाई माथि उठाएर सेलिब्रेट गरे । यो दृष्य गएराती कतारमा जारी फिफाको २२ औं संस्करणको फाइनल नजितापछिको दृश्य हो ।
जीओएटी ‘गोट’ अर्थात ग्रेटेस्ट अफ अल टाइम नेपालीमा सर्वकालीन महान खेलाडी भन्दा पेले र म्याराडोनालाई सम्झिने गरिन्थ्यो, अब त्यो लिष्टमा अर्को नाम थपिएको छ- लियोनल आन्ड्रेस मेसी । हुन त विश्वकपको ट्रफी जित्नुलाई मात्र सर्वकालीन महान खेलाडीका रुपमा हेरिन्न । विश्वकप जितिसकेपछि भने मेसीलाई आधिकारिक रुपमै महान खेलाडीका रुपमा चित्रित गर्न झनै सहज भएको छ ।
४ वर्षको उमेरमा खेल जीवन सुरु गरेका मेसी खेल जीवनको उत्तरार्धमा आइपुग्दा विश्वकपको ट्रफी हातमा लिई घरिघरी चुमिरहेका थिए । फाइनल खेलमा अर्जेन्टिनाका लागि २ गोल गरेका लिओ देशका लागि विश्वकप जिताउँदै कहिल्यै विश्वकप जित्न नसकेको ट्यागलाई हटाएका छन् । धेरैले अहिलेसम्म भएको विश्वकप फाइनल खेलकै उत्कृष्ट खेलमा जित निकाल्दै मेसीले आफ्नो अवार्ड संग्रहमा विश्वकपको ट्रफी थपेका हुन् ।
यो पुस्ताको उत्कृष्टमध्येका हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुई खेलाडीले आफ्नाे ब्यावसायिक करिअरमा सम्पूर्ण अवार्डहरु जिते विश्वकपको ट्रफी बाहेक मेसीका हकमा अब त्यो ट्याग रहेन उनले जित्न नसकेको त्यो ट्रफी जितेर विरोधी सबैको मुख बन्द गरिदिएका छन् । आफ्नो अन्तराष्ट्रिय करिअरको अन्तिम विश्वकपलाई सुखद बनाएका छन् । रोनाल्डोको हकमा त्यस्तो रहेन, उनको टोली पोचुर्गल क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले हार्दै बाहिरिएपछि रोनाल्डोको सपनामा तुसारापात भएको भएको थियो । ३६ वर्षपछि ठूलो उपाधि जितेको अर्जेन्टिनाले एकवर्षअघि मात्रै कोपा अमेरिका जितेर मेसीले राष्ट्रिय टोलीका लागि उपाधिको खडेरी तोडेका थिए । कतार विश्वकपलाई अन्तिम भनिरहेका मेसीले कतारबाट विश्वकपको ट्रफीसँगै सुखद् बिदा पाएका छन् ।
दुई लिजेन्ड खेलाडीहरुलाई एक समय खेलेको हेर्न पाएको हाम्रो पुस्ताबीच सधैं को उत्कृष्ट भन्ने प्रश्नमा मेसी नै अथवा रोनाल्डो नै उत्कृष्ट भन्ने पर्याप्त आधार नभएको बेला मेसीले विश्वकपको ट्रफी जितेपछि त्यो विवाद पनि साम्य भएको छ । किनकी मेसीसँग अब विश्वकपको ट्रफी छ जुन पोर्चुगिजसँग छैन् । आफ्नो खेलजीवनमा ७०० भन्दा बढी गोल गरिसकेका मेसीको नाममा दर्जनौं रेकर्डहरु बनेका छन् । मेसीले अब संसारलाई प्रमाणित गर्न केही बाँकी छैन् ।
एक समय देशका लागि केही जित्न नसकेर हतास भई अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका मेसी आइतबार विश्वकप उचाले लगत्तै ड्रेसिङ रुममा जाने क्रममा मिडियाकर्मीलाई अन्तवार्ता दिँदै आफू अन्तराष्ट्रिय खेल जीवनबाट सन्न्यास नलिने बताइरहेका थिए । एक हातमा विश्वकपको उपाधि, गलामा स्वर्ण पदक र छातीमा भर्खर थपिएको तेस्रो तारासहितको जर्सी लगाएका मेसी अँझै राष्ट्रिय टोलीका लागि खेलिरहने इच्छा जाहेर गरे ।
मेसीले प्रमाणित गर्न केही बाँकी छैन । उनले क्लब र राष्ट्रका लागि जित्न सकिने सबै अवार्ड तथा ट्रफी जितिसकेका छन् । व्यक्तिगत रुपमा पनि उनले जित्न केही बाँकी छैन । एक खेलाडीको जीबनमा पाउनसक्ने माया, बिरोध, राम्रो प्रदर्शन लगायत उनले सबै अनुभव गरे । विश्व फुटबलमा अब मेसीको जादु देख्न पाइएला नपाइएला त्यो समयले बताउने छ, तर आइतबार अर्जेन्टिनाका लागि मेसीले गरेको प्रदर्शन र २ गोललाई सारा संसारले भुल्ने छैन । किनकी मेसी निर्विवाद गोट हुन् अर्थात सर्वकालीन महान खेलाडी ।































प्रतिक्रिया