नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदै छ ।
बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जानकारी दिएका छन् । ८९ सांसद रहेको कांग्रेसमा बहुमतका लागि ४५ सांसद चाहिन्छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका थिए ।
कांग्रेस संस्थापनइतर समूहले महामन्त्री थापालाई दलको नेताको साझा उम्मेदवार बनाएसँगै संसदीय दलको नेतामा सभापति देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो । सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
महामन्त्री थापाको प्रस्तावकमा डा.शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् । शेरबहादुर देउवा समूहबाट प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फबाट २२ गरि अहिलेसम्म ४९ सांसद देखिएका छन् । थापाको पक्षमा अहिलेसम्म ३२ सांसद खुलेका छन् । शशांक कोइरालाले देउवालाई समर्थन गर्दा उनी निकट मानिएका दीपक गिरी थापाको पक्षमा छन् । अहिलेसम्मको अवस्था हेर्दा देउवा बहुमतमा देखिएका छन् । तर, १३ जना सांसद आफ्नो पक्षमा पार्न सके थापाको जित हुने निश्चित छ ।
कांग्रेसमा कम्तिमा ४५ सांसदको समर्थन जसले पाउँछ उही संसदीय दलको नेता बन्नेछन् । संसदको ठूलो दल भएकाले पनि कांग्रेस संसदीय दलको नेता जो हुन्छ, उही भावी प्रधानमन्त्रीको बलियो दाबेदार हुने छ ।































प्रतिक्रिया