टिपरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग बन्द

टिपरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग बन्द

केन्द्रबिन्दु
0
Shares

कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

दुर्घटनामा उनकी आमा घाइते छिन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा सामान्य घाइते छन् । टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । गोदावरी–७ को हरैयामा राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

Logo