तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ -अध्यक्ष प्रचण्ड

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन् । 

सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि अध्यक्ष प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताएका हुन् । टोलीले आज तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पारे ।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । 

भूकम्पपछिको पुनःनिर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए । उनले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको सांसद सापकोटाले जानकारी दिए । 

जुरे पहिरो, भूकम्प वा अन्य सन्दर्भमा आफू सिन्धुपाल्चोकका जनातासँग जोडिएको चर्चा गर्दै अध्यक्ष दाहालले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवेदनशील रहेको र समस्या समाधान गर्ने बताए । 

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य सापकोटाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहजरुपमा सञ्चालन र अरनिको राजमार्गको  स्तरोन्नतिका लागि  अध्यक्षलाई ध्यानाकर्षण गराइएको जानकारी दिए  । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य  सङ्घ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रतिनिधि अध्यक्ष दाहाल निवास खुमलटार पुगेका थिए ।

Skip This
Skip This
Logo