सरकारले १५ लाख फाइजर खोप ल्याउँदै

सरकारले १५ लाख फाइजर खोप ल्याउँदै

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय विशवभर कोभिड संक्रमण दर बढेसँगै सरकारले फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो। सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ। महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी दिए। उनले १५ लाख मात्रा खोप आउने जानकारी दिए। यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो। 

हाललाई औषधि ऐनअनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर काम अघि बढिरहेको उनको भनाइ छ। डा. लालले कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रूपमा उपलब्ध गराउने आश्वासन दिएको जानकारी गराए। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि नयाँ स्वरूप फैलिन सक्ने भन्दै जनस्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ। कोभिडविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लगाउन मन्त्रालयले आग्रह गरेपनि हाल नेपालमा १८ वर्षमाथि उमेर समूहका लागि बुस्टर मात्रा खोप लगाउनका लागि खोपको अभाव छ। 

आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले हाल ४७ लाख मात्रा खोप बाँकी रहेको जानकारी दिए। त्यसमध्ये ४२ लाख साइनोभ्याक्स र भेरोसेल खोप बाँकी छ तर उक्त खोप बुस्टरका लागि लगाउन मिल्दैन। उनले पाँच लाख फाइजरलगायतको खोप बाँकी रहेको जानकारी दिए। उनले उक्त फाइजर खोप बालबालिकालाई लगाउन मिल्ने बताए। 
बालबालिकाको बुस्टर मात्रा रहेको भन्दै उनले वयस्कहरूलाई लगाउने बुस्टर मात्रा खोप केन्द्रीय खोप भण्डारणमा नरहेको बताए। 

परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले खोपको अभाव रहेको बताए। उनले चीन सरकारले अनुदानमा प्राप्त कोभिडविरुद्धको ४२ लाख मात्रा साइनोभ्याक्स खोप व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्था शाखामा रहे पनि बुस्टरका लागि विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति नदिएकाले बुस्टरका रूपमा प्रयोग गर्न नपाइने बताए। नेपालमा पनि राष्ट्रिय खोप सल्लाहकार समितिले अनुमति दिएको छैन। उक्त खोप थन्किएको छ। डा. लालले पहिलो र दोस्रो मात्राका लागि साइनोभ्याक्स खोप प्रयोग गर्न मिल्ने जानकारी दिए। व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले चिनियाँ खोपको अवधि अझै एक वर्ष बढी रहेको जानकारी दिँदै बुस्टरका लागि खोप आयात गर्ने तयारी भइरहेको बताए।    

Skip This
Skip This
Logo