सुदूरपश्चिमकाे मुख्यमन्त्रिमा एमाले र माओवादीकाे दाबी

सुदूरपश्चिमकाे मुख्यमन्त्रिमा एमाले र माओवादीकाे दाबी

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा पनि केन्द्रमा बनेको सत्ता साझेदार नयाँ गठबन्धन अनुसार नै प्रदेश सरकार बन्ने भएको छ।

बहुमत पुगेकाले सत्ता साझेदार दलको सरकार बन्ने नेताहरूले बताएका छन्। केन्द्रमा बनेको सत्ता साझेदार दलहरूकै सरकार सुदूरपश्चिम प्रदेशमा बन्ने नेकपा (एमाले)का प्रदेश कमिटी सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।‘यहाँ मात्रै हैन, सात वटै प्रदेशमा सत्ता साझेदार दलको सरकार बन्ने सम्भावना छ’, उनले भने, ‘सत्ता साझेदारमध्ये यहाँ प्रतिनिधित्व रहेको चार वटा दलहरूको बहुमत पुग्ने गरेकाले सत्ता साझेदार दलकै सरकार हुन्छ।’

पाठकले केन्द्र र प्रदेश स्तरमा छलफल गरेर नेतृत्वको विषय टुङ्ग्याइने बताए। ‘नेतृत्व कसले गर्ने भन्ने छलफलको विषय हो’, उनले भने, ‘सङ्घ र प्रदेश स्तरमा छलफल गरेर यो विषयको टुङ्गो लगाउँछौँ ।’ यद्यपि, मुख्यमन्त्रीमा आफ्नो पार्टीको पनि दाबी रहने पाठकको भनाइ थियो । 

प्रदेश सभामा दोस्रो ठुलो दल रहेको सत्ता साझेदार माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ। सो पार्टीबाट खगराज भट्ट र ओमविक्रम भाट ‘सरल’ दलका नेता बन्ने होडमा छन्। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र),  नेकपा (एमाले) सहितको नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । सङ्घको जस्तै यहाँ पनि समीकरण कायम भएमा नयाँ गठबन्धनले सरकार चलाउने छ भने प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । 

५३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउनका लागि २७ सदस्य सङ्ख्या आवश्यक पर्दछ । सङ्घमा समीकरण भएका दलमध्ये चार दलको यहाँ प्रतिनिधित्व रहेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये दोस्रो ठुलो दल माओवादी केन्द्रसङ्ग ११, तेस्रो ठुलो दल नेकपा (एमाले) सँग १०, नागरिक उन्मुक्ति पार्टीसँग सात र राप्रपासँग एक जना प्रदेश सभा सदस्य छन् । चार वटै दलको गरेर सदस्य सङ्ख्या २९ छ । 

Logo