जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् ।
बुधवार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन् । उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए ।
नेता यादवले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गरे ।
उनले भने– ‘मलाई विश्वास छ जनताले जे आशा, भरोसाका साथ जनता समाजवादी पार्टीलाई यो युगान्तकारी परिवर्तनको बाहक र संघीयताको बाहक भनेको जसपा नेपाल जुन मुद्दालाई उठाउँदै अहिलेसम्म यहाँ अगाडी बढेको छ । जनताको विश्वास छ । त्यसलाई हामी, खास गरेर उत्पीडित समुदायको जे माग र मुद्दा छन् , त्यसलाई हामी सशक्त रुपले उठाउने छौँ । यसका लागि सम्पूर्ण जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग सबैलाई मिलाएर पार्टीको खासगरी मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस, महिला लगायतका समस्याहरुलाई हामीले सम्बोधन गराउनका लागि हरेक ठाउँमा हाम्रो प्रयास रहनेछ ।’
नेता यादवले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भुमिका खेल्ने बताए । उनले आफुले इमान्दारिता र निष्ठाको साथ काम गर्ने पनि बताए । पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने उनले स्पष्ट पारे ।
बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उनलाई निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।































प्रतिक्रिया