बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

लेबनान ।

लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् । दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । “अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन,” एक अधिकारीले एएफपीलाई भने ।

उनले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए। स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारी अनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर रहेको बताए ।

विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यहीं रहेकाहरु पनि त्रसित अवस्थामा रहेका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबार विहिन भएकाले विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो । यस विस्फोटनको घटनाप्रति विश्वभरका नेताहरुले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले लेबनानलाई सहयोग पनि गरेका छन् ।

अनुसन्धानका लागि हामीलाई अनुरोध भएको छैन– राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ ।

गत मंगलबार भएको सो भिषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् ।

यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको बताइएको छ ।

यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका एकजना सहायक प्रवक्ताले बताए। राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिएका हुन् । उनले भने– हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।

तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताए।रासस

Logo