सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सात दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो बस्ने बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने जनाइएको छ । गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी स्वरुप आजको बैठक बस्न लागेको हो । 

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ। एमालेभित्र राष्ट्रपतिमा सुवास नेम्वाङसहितका नेताहरु आकांक्षी छन्। सभामुखमा छविलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराई मध्येबाट एकजनालाई पठाउने एमालेको तयारी छ। यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ। चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ। 

यसैबीच, बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार बिस्तार र शक्ति बाँडफाँडबारे छलफल भएको छ। दुई अध्यक्षबीच मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँडबारे समेत छलफल भएको दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले पनि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको जनाएको छ।

प्रधानमन्त्रीसहित आठजनाको मन्त्रिपरिषद् गठन भए पनि चार जनाको कार्यभार तोकिएको छैन। प्रधानमन्त्री प्रचण्ड र  र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि बुधबार भेटवार्ता भएको छ। 

Skip This
Skip This
Logo