सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी  बैठकमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी छन्। प्रचण्ड प्रधानमन्त्री भएकै दिन सातजना मन्त्री नियुक्त भए पनि मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी छ। दलहरुले आ–आफ्नो दाबी पेश गरे पनि कसले कति र कुन मन्त्रालय पाउने भन्ने विषय पनि टुंगिएको छैन। जस कारण सोमबार प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीको मन्त्रालय अझै तोकिएको छैन।

यद्यपि सत्ता साझेदार राप्रपा, जसपाका साथै सरकारमा ल्याउन प्रयत्न भइरहेको नेकपा एकीकृत समाजवादीले संस्थागत निर्णय नदिएकाले कसरी मन्त्रालय बाँडफाँड गर्ने भन्नेमा अन्योल देखिएको छ। राप्रपाले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुका माग सम्बोधन हुने भए शशर्त सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएर राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने, नीतिगत भ्रष्टाचार रोक्न मन्त्रिपरिषद्ले गर्ने विवादित निर्णयहरू अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने, नेपालमै कृषि मल काराखाना खोल्नुपर्ने, जनसुकै अस्पतालमा स्वास्थ्य बिमाको सुविधा हुनुपर्नेलगायत राप्रपाका शर्त छन्।

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि नेताहरुबीच छलफल गर्ने तयारी छ। साथै प्रदेश सरकार गठनका विषयमा पनि दलहरुबीच छलफल हुने बताइएको छ।

यसअघि हिजो सत्ता साझेदार प्रमुख दुई घटक नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच साढे २ घण्टा छलफल भएको थियो।

Skip This
Skip This
Logo