राजधानीमा जारी रहेको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ ।
प्रतियोगिताको छैटौं खेलमा पहिलो जित हात पारेको पोखराले आफ्नो सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको आजको पहिलो खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । आसिफ ६२ बलमा ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए । सुमित मर्हजन १३ रनमा आउट भए ।
लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए । ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १०–१० रन बनाए ।
पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३–३ तथा आरिफ शेख, तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान १–१ विकेट लिए । पाँच खेलमा अपराजित रहेको लुम्बिनी छैठौं खेलमा आएर पराजित भएको छ । हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।





























प्रतिक्रिया