पूर्वगृहमन्त्री खाण भन्छन्- पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

पूर्वगृहमन्त्री खाण भन्छन्- पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को-को परिचालित थिए भनेर खुलाएनन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा बुटवलमा शनिबार आयाेजित कार्यक्रममा पूर्वगृहमन्त्री खाणले यस्तो बताएका हुन् । आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले कुनै टिप्पणी नगर्ने खाणले बताए ।

'गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,' उनले भने । 

पूर्वगृहमन्त्री खाणले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए । 'राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,' उनले भने उनले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे । 

कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए । 

त्यस्तै, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताए ।

Logo