‘बीएफ–७’को संक्रमण बढेसँगै स्वदेश फर्कनेमा कोभिड देखिन थाल्यो

‘बीएफ–७’को संक्रमण बढेसँगै स्वदेश फर्कनेमा कोभिड देखिन थाल्यो

केन्द्रबिन्दु
0
Shares

विश्वभर कोभिड १९ को संक्रमण पुनः बढ्दै गएपछि पछिल्ला दिनमा विदेशबाट स्वदेश फर्कने व्यक्तिमा पनि कोभिड संक्रमण देखिन थालेको छ।

एक साता अघिसम्म त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिने यात्रुमा एन्टीजेन परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने गरेकोमा केही दिनअघि नेपाल भित्रिने हवाई यात्रुमा भने पोजेटिभ देखिन थालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ डेस्कका अनुसार युएईबाट गत बिहीबार मात्रै एयर अरेबिया ३ एल ४५ विमानबाट नेपाल भित्रिएका एक युवकमा कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।कोभिड १९ को संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने यात्रुमा देखिएको यो पहिलो केस रहेको डेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेले बताए।

‘चीन लगायतका देशमा संक्रमण बढ्दै गएपछि हामीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेमा कोभिड परीक्षणमा कडाइ गरेका छौँ। त्यसैअनुसार हामीले बिहीवार मात्रै युएई हुँदै नेपाल भित्रने एक युवकमा एन्टीजेन परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको हो’‚ पाण्डेले भने। पाण्डेले अनुसार ती संक्रमितलाई आफूहरूले एम्बुलेन्समा राखेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको समेत बताए। उनले भने‚ ‘युएईबाट एयर अरेबिया ३ एल ४५ नम्बरको जहाजको सिट नम्बर ९ ई सिटमा बसेर आएका उनलाई एन्टीजेन पोजेटिभ देखिएपछि हाल चीन लगायतका देशमा ओमिक्रोनको ‘बिएफ सेभेन’ सब भेरिएन्टको बढ्दो संक्रमणदरको जोखिम ध्यानमा राख्दै एम्बुलेन्समा राखेर टेकु अस्पताल पठाएका छौँ भने  उनको छेउछाउ बसेर आएका ६ जना यात्रुलाई क्लोज कन्ट्याकलाई अलर्ट हुन भनेका छौँ’‚ पाण्डेले भने।

यता त्रिभुवन विमानस्थल डेल्थ डेस्कले पठाएका ती संक्रमितलाई भने अस्पतालले भर्ना गरेर उपचार गर्न नसकेर रूपन्देहीस्थित घर पुगेको पाइएको छ। सरकारले नयाँ भेरिएन्टको जोखिमसँगै नेपाल बाहिरबाट आएका व्यक्तिलाई एन्टीजेन परीक्षण गरी पोजेटिभ आए अस्पताल र नेगेटिभ आए घर पठाउने कार्यविधि बनाएको छ। संक्रमित व्यक्तिको जिन सिक्वेन्सिङ गरेपछि मात्रै घर जाने व्यवस्था गरे पनि युएईबाट गत बिहीबार आएका  ती संक्रमित घर पुगेका हुन्।

टेकु अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार त्रिभुवन विमानस्थल हेल्थ डेस्कले एन्टीजेन पोजेटिभ देखिएर टेकु अस्पताल पठाए पनि संक्रमितमा कुनै पनि लक्षण नदेखिएको हुँदा संक्रमितले होम आइसोलेशनमा बस्ने इच्छा देखाएपछि उनी घर गएको बताए। ‘गत बिहीवार एयरपोर्ट हेल्थ डेस्कबाट एकजना संक्रमित पठाउनु भएको हो तर उहाँमा कुनै पनि लक्षण नदेखिएको हुँदा र संक्रमितले होम आइसोलेशन बस्ने इच्छा देखाएपछि घर जानु भएको हो’‚ भण्डारीले भने। पछिल्लो समय चीन, भारत लगायतका देशमा ओमिक्रोनको भेरियन्टको सब भेरिएन्टको ‘बिएफ सेभेन’को  संक्रमणदर चीन, भारत लगाएका देशहरूमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सीमा नाका र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चेक जाँचमा कडाइ गरिएको छ।

Logo