सेयर बजारमा पब्लिकको चासो, ८० लाख नाघ्यो सेयर खाता

सेयर बजारमा पब्लिकको चासो, ८० लाख नाघ्यो सेयर खाता

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सेयर बजार (प्राथमिक र दोस्रो) मा लगानीका लागि आइतबारसम्म ८० लाखभन्दा बढी हितग्राही खाता (डिम्याट एकाउन्ट) खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ।

एक दशकअघि कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ८० प्रतिशतभन्दा बढी थियो, अहिले घटेर ५० प्रतिशत हाराहारी छ। यस अवधिमा उत्पादनमूलकमध्ये जलविद्युत्का धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी सेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योगलगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्।

नागरिक सहभागिताका हिसाबले नेपालको सेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यसअनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल बताउँछन्। ‘स्थापनाको साढे तीन दशक र एकचौथाइ नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ।

सट्टेबाजी कारोबारका लागि जलविद्युत्, सिमेन्टलगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैरआवासीय नागरिकलाई भित्र्याउन नसकिएको फुयाल बताउँछन्। ‘यीलगायत कारणले सेयर बजार लगानीको उपयुक्त क्षेत्र र राष्ट्रिय पुँजी निर्माणको आधार बन्न सकेको छैन,’ उनले भने, ‘सेयर बजारको विकासमा सन्तोष मान्ने अवस्था नभए पनि लगानीकर्ताका आकर्षण निकै उत्साहजनक रहेको छ।’

केन्द्रीय निक्षेप प्रणाली (सीडीएस एन्ड क्लियरिङ–सीडीएससी) का अनुसार आइतबारसम्म ८० लाख ९ हजार ६ सय २३ वटा डिम्याट (विद्युतीय प्रणालीमा परिणत भएको सेयर राख्ने खाता) खाता खुलेका छन्। हाल प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन र दोस्रो बजारमा सेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ । यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा सेयर बजारमा लगानीकर्ताको संख्याका रूपमा विश्लेषण गरिएको हो।

एक व्यक्तिले एकभन्दा बढी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन्, त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था छैन। तर सीडीएससी स्रोतका अनुसार हालसम्म खुलेका ८० लाख हाराहारी खातामध्ये ५ देखि ६ लाखसम्म मात्र दोहोरिएको छ। तीमध्ये धेरै खाता आईपीओ हाल्न मात्रै उपयोग हुने गरेको र करिब २० देखि ३० लाख खाता सेयरविहीन रहेको स्रोतले जानकारी दिएको छ।

सीडीएससीका अनुसार पाँच वर्षमा डिम्याट खाता संख्या २६ लाख ६३ हजारले बढेको छ। सेयर कारोबारबारे व्यक्तिगत विवरण रहने एप ‘मेरो सेयर’ मा हाल ७० लाख ९६ हजार ८३ प्रयोगकर्ता छन्। तीमध्ये ५१ लाख ४८ हजार ८ सय ९३ सक्रिय प्रयोगकर्ता रहेको सीडीएससीको तथ्यांक छ। पाँच वर्षअघि आर्थिक वर्ष २०७८/७९ मा ४३ लाख ९५ हजारमा मेरो सेयर एपका प्रयोगकर्ता रहेकामा २०७९/८० मा ४८ लाख २६ हजार, त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः ५३ लाख ६९ हजार र ५९ लाख ७६ हजार पुगेका थिए।

हाल दोस्रो बजारमा १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६ सय ९८ कित्ता सेयर सूचीकृत भएकामा १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७ सय ८२ कित्ता सेयर सेयर डिम्याट (भौतिक सेयर विद्युतीय सेयरमा रूपान्तरण) भएको सीडीएससीले जनाएको छ।

संख्यात्मक हिसाबले सेयर बजारमा नागरिकको सहभागितामा ठूलो छलाङ देखिए पनि कारोबारको अवस्था, नियमन तथा सुपरिवेक्षण, वित्तीय साक्षरण लगायतमा अपेक्षित विकास हुन नसकेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलको तर्क छ। सबैभन्दा ठूलो कमजोरी हामीले १० कित्ते नीति प्रोत्साहन गरिरहेका छौं। कारोबार, नियमन तथा सुपरिवेक्षण लगायतमा हेर्दा अन्तर्राष्ट्रिय बजारमै हामी सबैभन्दा कमजोर छौं, उनले भने ।

करिब ४७ लाखले दोस्रो बजार अनलाइन कारोबारका लागि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खाता खोलेका छन्। तीमध्ये करिब ४ लाख मात्र सक्रिय लगानीकर्ता छन्। सामान्यतया एक वर्षमा कम्तीमा एक पटक सेयर खरिद वा बिक्री गरेका लगानीकर्तालाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सक्रिय लगानीकर्ता भनेर परिभाषित गर्दै आएको छ। सक्रिय लगानीकर्ताको संख्या पनि सेयर बजारको दिशामा निर्भर रहन्छ। सामान्यतया बजार बढेका बेला सक्रिय लगानीकर्ता बढ्छन् भने घटेका बेला घट्छन्। केही दिनयता बजार सामान्य उकालो लागिरहेकाले सक्रिय लगानीकर्ताको संख्या पनि विस्तारै बढ्न थालेको बताइएको छ।

गत जेठसम्म पुँजी बजारमा २ सय ९७ कम्पनी सूचीकृत छन्। दोस्रो बजार कारोबारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ। पुँजी बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहे पनि दोस्रो बजार कारोबार सञ्चालन हुन सकेको छैन। असार २०७३ सम्म कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७२.५ प्रतिशत थियो। हाल यो अनुपात ७१ प्रतिशत कायम भएको छ। जबकि गत फागुनमा यस्तो अनुपात ७७.७ प्रतिशत थियो। नेप्से घटेसँगै कम्पनीको सेयर मूल्य घटेकाले कुल बजार पुँजीकरणमा कमी आएको हो।

आर्थिक वर्ष २०६०/६१ मा नेप्सेको कुल वार्षिक कारोबार रकम २ अर्ब १४ करोड हुँदै गर्दा सरकारले पुँजीगत लाभकरबापत ३१ लाख रुपैयाँ प्राप्त गरेको थियो। त्यसको २१ वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा नेप्सेको कारोबार रकम २१ खर्ब नाघ्दा नेपाल सरकारले १८ अर्बभन्दा बढी रकम बजारबाट करका रूपमा प्राप्त गरेको नेप्सेको भनाइ छ।

गएका एघार महिनामा नेपाल धितोपत्र बोर्डले ३७ अर्ब ३ करोड बराबरको सामूहिक लगानी कोष, ९ अर्ब १२ करोड बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद सेयर, २ अर्ब ६० करोडको ऋणपत्र र ४ करोड ६७ लाख एफपीओ गरी कुल ५३ अर्ब ७३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ ।

Logo